एजेन्सी, २० बैशाख । इङलिस क्लब लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । इटालियन क्लब रोमालाई समग्रमा ७–६ गोल अन्तरले पराजित गर्दै लिभरपुल फाइनलमा प्रवेश गरेको हो ।
लिभरपुल ११ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । फाइनलमा लिभरपुलले स्पेनिस क्लब रियल मड्रिडको सामना गर्ने छ । फाइनल खेल मे २६ मा हुने छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलले ४–२ को हार व्यहो¥यो । खेलमा सादिओ मानेको गोलमा अग्रता लिएर पनि लिभरपुल पराजित भएको हो ।
मानेले खेलको ९ औं मिनेटमा अग्रता दिलाएकामा त्यसको ६ मिनेटपछि मिल्नरले रोमाका लागि उपहारस्वरुप आत्मघाती गोल गरे । २५ औं मिनेटमा विज्नाल्दुमले लिभरपुललाई २–१ को अग्रता दिलाए । तर रोमाले दोस्रो हाफमा ३ गोल फर्कायो । ५२ औं मिनेटमा बराबरी गोल फर्काएको रोमाले अन्तिम ८ मिनेटमा दुई गोल गरेको थियो ।
४–२ को पराजयका बाबजुद पहिलो लेगमा ५–२ को जित हात पारेका कारण समग्रमा ७–६ को जितसहित लिभरपुलले रियल मड्रिडसँगको उपाधि होड पक्का गरेको हो ।
लिभरपुल र रियल मड्रिड ३७ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा भिड्न लागेका हुन् । सन् १९८१ मा भएको फाइनलमा लिभरपुलले रियल मड्रिडलाई १–० ले पराजित गरेको थियो ।