साउन ३०, काठमाडौँ ।
निरन्तरको बर्षाका कारण तराई क्षेत्रका विमानस्थलमा हवाइ सेवा प्रभावित भएको छ ।
पूर्वी तराइको अति ब्यस्त रहने बिराटनगर बिमानस्थलमा शनिबारदेखि उडान तथा अवतरण हुन सकेको छैन । त्यस्तै अन्य बिमानस्थलहरु पनि आंशिक रुपमा सञ्चालनमा रहेको त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले जानकारी दिनुभयो ।
विराटनगर विमानस्थलको धावन मार्गमा शनिबार विहान देखि नै ३ फिट सम्म पानी जमेको छ । बर्षा नरोकिएपछि धावनमार्ग सहित विमानस्थलको नागरिक उड्यन प्राधिकरण र अन्य भवनहरु समेत ढुवानमा परेको छ ।
तराइका बिभिन्न बिमानस्थलहरुबाट नेपाल वायुसेवा निगम लगायत नीजि विमान कम्पनीहरुले दैनिक २० वटासम्म उडान भर्दै आएका छन् । उता भैरहवा बिमानस्थलमा पनि मौसम प्रतिकुल भएपछि शनिबारदेखि नै उडान हुन सकेको छैन । जहाजको टिकट लिइसकेका यात्रुहरु बिमान अबतरण हुन नसकेपछि बिमानस्थलबाटै फर्किएका छन् ।
झापाको चन्द्रगढी बिमानस्थलसहित जनकपुर बिमानस्थलमा भने आइतबार दिउँसोबाट उडान पुनः सुरु भएको त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलका महाप्रबन्धक उपाध्यायले जानकारी दिनुभयो ।