काठमाडौं, १३ चैत । गत वर्षको बाढीबाट अतिप्रभावित तराईका सात जिल्लामा संचालन गरिएको ‘बाढीपीडित सहयोग कार्यक्रम’ समापन गरिएको छ । बाढी अतिप्रभावित जिल्लामा संयुक्त राष्ट्र संघ र चीन सरकारको सहयोगमा संचालित ‘बाढिपीडित सहयोग कार्यक्रम’ सोमबार काठमाडौमा एक कार्यक्रमबीच समापन गरिएको हो ।
कार्यक्रममा नेपालका लागि चीनका राजदुत यू होङले बाढीबाट अति प्रभावित जिल्लामा राहतका लागि सहयोग कार्यक्रम संचालन गरिएको बताए । उनले एक असल छिमेकको नाताले नेपाली जनताको पीडालाई सम्बोधन गर्न चीन सरकारले बाढिपीडित राहत कार्यक्रममा सहयोग गरेको पनि स्मरण गराए । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका राष्ट्रिय निर्देशक रेनउ मेयरले विपदमा परेका नेपालका अति प्रभावित क्षेत्रका जनतालाई मानवीय सहयोग गरिएको बताए ।
कार्यक्रमबाट बाढी प्रभावित तराईका ७ जिल्लाका ८ सय घर परिवार लाभान्वित भएका थिए । उनीहरुलाई स्वास्थ्य, सरसफाई, सुधारिएको चुलो र ओढने, ओछयाउने कपडासहितको सामाग्री वितरण गरिएको थियो । गत कार्तिकबाट सुरु भएको कार्यक्रमले ३ महिनाको अवधिमा बाढिपीडितको पहिचानदेखि राहत वितरणसम्मको कार्यक्रम सम्पन्न गरेको थियो ।
यस वर्षको वर्षायाममा बाढीबाट तराईका जिल्लामा १ सय ३४ जनाको ज्यान गएको थियो भने करिब १५ लाख बासिन्दा प्रभावित भएका थिए ।




