२५ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरण लम्कीशाखाले लामो समयदेखि विद्युत महशुल नबुझाउने ग्राहकको विद्युत लाइन काट्न थालेको छ ।
पटक–पटक ताकेदा गर्दा पनि महशुल नबुझाउने ग्राहकको लाईन काट्न सुरु गरिएको हो । तीन महिना नाघिसक्दा पनि विद्युतको महशुल बुझाउन आनाकानी गर्ने ग्राहाकको लाइन काट्न शुरु गरेपछि बक्यौता रहेको रकम पनि उठ्न थालेको छ ।
नेपाल विद्युत प्राधिकरण लम्की शाखाअन्तर्गतको ’नो लाईट’ शाखाका कार्यालय प्रमुख कमल झाका अनुसार लाइन काट्न थालेपछि करीब १ करोड ८९ लाख ४ हजार ६ सय १२ रुपैयाँ महशुल असुल भएको छ ।
विद्युत सेवा खपत गरी समयमै महशुल नबुझाउँदा नेपाल विद्युत प्राधिकरणको करोडौँ रकम वक्यौता रहेको छ । अहिलेसम्म प्राधिकरणले लम्कीमा मात्र करीब १ सय जना बढीको लाईन काटी सकेको छ । अझै लाईन काट्ने क्रम जारी रहेको प्राधिकरणले जनाएको छ ।




