जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८३, मंगलबार

जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’

काठमाडौ ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रवासी नेपालीको मताधिकार र श्रम गन्तव्यको समस्या समाधानका लागि स्पष्ट खाका माग गर्नुभएको छ ।
संसदीय सुनुवाई समितिको मंगलवारको बैठकमा जर्मनीका लागि प्रश्तावित राजदुत सरु जोशीको कार्ययोजना र क्षमतामाथि प्रश्न गर्दै सांसद पुनले जोशीको लामो अनुभव र विज्ञताको प्रशंसा गर्दै अब उहाँ एक अभियन्ताबाट कुटनीतिक प्रतिनिधिमा रूपान्तरण भएकोले थप जिम्मेवारी बढेको बताउनु भयो । उहाँले विशेषगरी विदेशमा रहेका नेपालीहरूको ‘नोट चल्ने तर भोट नचल्ने’ अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्राविधिक र प्रशासनिक रूपमा प्रवासी मताधिकार कार्यान्वयन गर्न कत्तिको सम्भव देख्नुहुन्छ भनी प्रश्न गर्नुभयो ।
आर्थिक कुटनीतितर्फ संकेत गर्दै पुनले नेपालको जर्मनीसँगको ऊर्जा र जलवायु परिवर्तनको साझेदारीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले एलडिसीबाट स्नातक हुँदै गरेको नेपाललाई वैदेशिक सहयोगभन्दा बढी लगानीको आवश्यकता रहेको उल्लेख गर्दै सोहीअनुरूप प्राथमिकता तय गर्न सुझाव दिनुभयो । उहाँले जर्मनीमा रहेको नेपालको जग्गा र सम्पत्तिको उचित व्यवस्थापन गर्न पनि ध्यानाकर्षण गराउनु भयो ।
श्रम आप्रवासनको क्षेत्रमा काम गरिसक्नुभएकी जोशीलाई लक्षित गर्दै पुनले महिला श्रमिकको सुरक्षा र गन्तव्य मुलुकमा भइरहेको शोषण न्युनिकरणका उपायबारे प्रश्न सोध्नुभयो । रोमानियाजस्ता देशमा श्रम स्वीकृति लिएका नेपालीहरू अनधिकृत रूपमा अन्यत्र जाने क्रम बढेको भन्दै उहाँले सरकारी डेटा र वास्तविक धरातलबीचको ‘मिस म्याच’ लाई कुटनीतिक च्यानलबाट कसरी सम्बोधन गर्ने भन्नेबारे स्पष्ट पार्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यहाँले विगतमा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउन वकालत गर्नुभएको थियो । अब यसको आर्थिक, प्राविधिक र प्रशासनिक सम्भाव्यता कति छ, र आगामी निर्वाचनमा यो व्यवस्था लागू गर्न सकिन्छ ? नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा रहँदा जर्मनीको विकास सहायता र लगानीलाई निरन्तरता दिन, विशेषगरी नवीकरणीय ऊर्जा, जलवायु परिवर्तन र विपद् व्यवस्थापनका क्षेत्रमा सहयोग बढाउन यहाँले के पहल गर्नुहुन्छ ? वैदेशिक रोजगारीमा जाने महिला श्रमिकको शोषण अन्त्य गरी सुरक्षित र सम्मानजनक आप्रवासन सुनिश्चित गर्न यहाँको योजना के छ ? बोनस्थित नेपाली राजदूतावासको सम्पत्ति व्यवस्थापन र बिक्रीसम्बन्धी समस्या कहिलेसम्म समाधान गर्नुहुन्छ ? रोमानियाका लागि श्रम स्वीकृति लिएर अन्य युरोपेली मुलुकमा पुगेका नेपालीको तथ्याङ्क र वास्तविक अवस्थाबीचको अन्तर कसरी समाधान गर्नुहुन्छ ?’
समिति बैठकमा सांसद पुनले कुटनीतिक नियोगको नेतृत्व गर्दा विज्ञतालाई व्यवहारमा उतार्न चुनौती हुने भएपनि आफ्नो पृष्ठभुमिले जोशीलाई काम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

ताजा समाचार