काठमाडौँ ।
काठमाडौं महानगरपालिकाले न्युरोडस्थित नेपाल वायुसेवा निगम (एनएसी)को भवनलाई बहुमञ्जिला पार्किङमा परिणत गर्न सङ्घीय सरकारसँग अनुमति मागेको छ । काठमाडौंमा बढ्दो पार्किङ समस्या समाधानका लागि सिमित स्थानको अधिकतम सदुपयोग गर्ने उद्देश्यले एनएसी भवनमा मल्टी स्टोरी पार्किङ निर्माणको प्रश्ताव अघि बढाइएको हो । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आईतवार काठमाडौं महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सवमा बोल्दै एनएसी भवनलाई मल्टी स्टोरी पार्किङ बनाउन महानगरलाई अनुमति दिन सङ्घीय सरकारसँग विशेष अनुरोध गरिएको बताउनु भयो ।
उहाँकाअनुसार एनएसी भवनमा बहुमंजिला पार्किङ बनेपछि विशेषगरी काठमाडौंको कोर एरियामा रहेको पार्किङ समस्या समाधान गर्न सहयोग पुग्ने महानगरको विश्वास छ । महानगरले काठमाडौंभरको पार्किङ समस्या र त्यसको व्यवस्थापनबारे समेत अध्ययन गरिरहेको जानकारी दिनुभयो । विज्ञमार्फत भइरहेको अध्ययनको प्रतिवेदन केही समयभित्र प्राप्त हुने र त्यसमा दिइएका सुझावका आधारमा पार्किङ व्यवस्थापनको योजना अघि बढाइने उहाँले बताउनु भयो । डंगोलले काठमाडौंको क्षेत्रफल सीमित रहेकाले नयाँ ठाउँ थप्नेभन्दा उपलब्ध स्थानको उचित सदुपयोग गरेर पार्किङ व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । बढ्दो पार्किङ समस्या समाधानका लागि महानगरले अब थप व्यवस्थित र प्रणालीगत ढङ्गले काम गर्ने उहाँको भनाइ छ ।




