काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पार्टीको आगामी महाधिवेशन कुनै कारण वा बहानामा नरोकिने स्पष्ट पार्नुभएको छ । मङ्सिर २६, २७ र २८ गते हुने महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्दै त्यसलाई पार्टी पुनर्निर्माणको अवसरका रूपमा उपयोग गर्नुपर्ने उहाँले बताउनुभएको हो । आईतवार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनमा बोल्दै लिङदेनले पार्टीभित्र देखिएका कमजोरी सच्याएर नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताउनु भयो । विगतका गल्ती र कमी–कमजोरीलाई निरन्तरता दिने प्रयास भइरहेको भन्दै त्यसको अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ । लिङदेनले नेकपा एमालेको नाम नै लिएर राजनीतिक दलहरू अझै नसुध्रिएको भन्दै सांसद खरिद–विक्री गरेको आरोप लगाउनु भयो । वागमती प्रदेश सरकार निर्माणका लागि एमालेले राप्रपाका सांसद किनेको उहाँको आरोप छ । ठूलो राजनीतिक परिवर्तन र विद्रोहपछि पनि यस्ता विकृति दोहोरिनु दुर्भाग्यपूर्ण भएको बताउनु भयो । वागमती प्रदेशमा पछिल्लो समय देखिएको राजनीतिक घटनाक्रमको प्रसङ्ग उल्लेख गर्दै उहाँले अरूलाई मात्रै दोष दिनुभन्दा आफ्नै पार्टीको कमजोरी पनि हेर्नुपर्ने बताउनु भयो ।
‘आफ्नै थैलो हामीले राम्रो बाँध्न नसकेपछि उनीहरूलाई मात्रै के भन्ने ? आफ्नै मान्छे खसी–बाख्रा जस्तो विक्री हुन तयार भएपछि हामीले के भन्ने ?’ उहाँको प्रश्न छ । लिङदेनले पार्टीको टिकट र मनोनयनबाट निर्वाचित सांसदले व्यक्तिगत रूपमा नभई पार्टीको प्रतिनिधिका रूपमा काम गर्नुपर्ने बताउनु भयो । पार्टीको नामबाट चुनाव जितेर निर्वाचित भएका सांसदले पार्टीको निर्णयविपरीत आफूखुशी अर्को दलसँग मिल्ने वा जाने काम कुनै पनि हालतमा स्वीकार्य नहुने उहाँको भनाइ छ । यस्ता विकृति अन्त्य गर्न कार्यकर्ता पङ्क्ति एकतावद्ध भएर पार्टीलाई साथ दिनुपर्ने बताउनु भयो । पार्टीभित्र सांसदको व्यक्तिगत स्वार्थ र दल परिवर्तनको प्रवृत्ति कायम रहेसम्म बलियो पार्टी निर्माण गर्न नसकिने तथा जनताले पनि विश्वास नगर्ने उहाँको भनाइ छ । विगतमा भएका गल्ती, कमी–कमजोरी र विकृतिलाई पछिल्लो समय पनि निरन्तरता दिने प्रयास भइरहेको भन्दै लिङदेनले त्यसको ‘समूल अन्त्य’ आवश्यक रहेको बताउनु भयो । उहाँले पार्टीलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्तालाई एकतावद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो ।




