जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’

काठमाडौँ ।

सातदोबाटोमा निर्माण गरिएको जेन–जी शहीद पार्कको शालिक अनावरण कार्यक्रम शहीदका आफन्तले रोकिदिएका छन् ।शालिकको अनुहार शहीदको अनुहारसँग नमिलेको भन्दै आफन्तहरूले अनावरण गर्न असहमति जनाएपछि उद्घाटनका लागि पुगेका गृहमन्त्री सुदन गुरुङ त्यत्तिकै फर्किनुभएको हो । शहीदका आफन्तले सालिक निर्माणमा लापरबाही गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले आफूहरूलाई कार्यक्रमबारे अन्तिम समयमा मात्रै जानकारी दिइएको र सालिकसमेत चित्तबुझ्दो नबनाइएको आरोप लगाए ।

शालिक निर्माण सम्पन्न भएकोबारे आफूहरूलाई जानकारी नै नभएको बताउँदै उनले उद्घाटन कार्यक्रमबारे समेत अघिल्लो दिन दिउँसो मात्रै थाहा पाएको बताउनु भयो । शालिकको अनुहार नमिलेको भन्दै आफन्तहरूले तत्काल अनावरण गर्न नदिने अडान लिए । उनीहरूले परिवारको सहमति नलिई कार्यक्रम अघि बढाउन खोजिएको भन्दै आपत्तिसमेत जनाए । कार्यक्रमस्थलमा पुग्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले पनि सालिकको अनुहार पूर्ण रूपमा तयार नभएसम्म अनावरण गर्न नहुने बताउनु भयो । खरेलकाअनुसार सातदोबाटोमा जेन–जी पार्क निर्माणको अवधारणा तत्कालीन अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारकै पालामा अघि बढाइएको थियो । आफू त्यतिबेला सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री रहेको र तत्कालीन युवा तथा खेलकुदमन्त्री बबलु गुप्ताको सक्रियतामा पार्क निर्माणको काम अघि बढाइएको उहाँले बताउनु भयो । उहाँले करिव अढाई महिनामा पार्क निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि निर्वाचनका कारण काम केही समय थाती रहेको बताउनु भयो ।

उहाँले पार्क निर्माणको काम लगभग सम्पन्न भएपनि फिनिसिङ तथा सालिक निर्माणमा केही काम बाँकी रहेको बताउनु भयो । शहीदको अनुहार मिलाउने जिम्मेवारी सम्बन्धित निर्माणकर्ताको भएकाले पूर्ण रूपमा तयार भएपछि मात्रै अनावरण गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले जेन–जी शहीद पार्क बन्ने सुनिश्चित हुनु सकारात्मक पक्ष भएको भन्दै केही समय लिएर पार्क र सालिकलाई गुणस्तरीय ढङ्गले सम्पन्न गर्नुपर्ने बताउनु भयो । शहीदका आफन्तले शालिकको स्वरूपप्रति असहमति जनाउँदै अनावरण गर्न नदिएपछि कार्यक्रम स्थगित भएको हो ।

Leave a Reply

ताजा समाचार