ग्रीसको एथेन्समा आयोजित ‘एथेन्स फ्लाइङ विक’ अन्तर्राष्ट्रिय एयर शोका क्रममा शनिवार वायुसेनाको एउटा लडाकु विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ । ग्रीसको राष्ट्रिय प्रसारक इआरटीकाअनुसार तानाग्रा एयर बेसमा प्रदर्शनका क्रममा उक्त दुर्घटना भएको हो । हेलेनिक वायुसेनाको उडान प्रदर्शन शुरु भएको केही मिनेटमै एफ–४ई फ्यान्टम २ लडाकु विमानले दाहिने मोड लिने क्रममा अचानक उचाई गुमाएर दुर्घटनाग्रस्त भएको थियो । विमान खसेलगत्तै दुई टुक्रा भएको र दुई फरक स्थानमा भीषण आगलागी भएको इआरटीले जनाएको छ ।
सैनिक स्रोतकाअनुसार दुर्घटनामा परेका दुवै पाइलटलाई घटनास्थलबाट केही दुरीमा अचेत अवस्थामा फेला पारिएको थियो । ग्रीसका रक्षामन्त्री निकोस डेन्डियासले पाइलटहरूको मृत्यु भएको पुष्टि गर्दै यस दुःखद् घटनाको सन्दर्भमा सशस्त्र बलमा शनिवारदेखि सोमवारसम्म तीन दिने शोकको घोषणा गर्नुभएको छ ।
ज्यान गुमाउने दुवै पाइलटसँग हजारौँ घण्टा उडान भरेको लामो अनुभव रहेको सैन्य स्रोतले जानकारी दिएको छ ।
युरोप र एशियाका विभिन्न देशका हवाई टोलीहरूको सहभागिता रहने दुई दिने एथेन्स फ्लाइङ विकका क्रममा यो अप्रत्याशित दुर्घटना भएको हो ।
This website uses cookies.