म्यानमारले चालु आर्थिक वर्ष २०२६–२७ को पहिलो पाँच महिनामा १ लाख ३० हजार ४११ टनभन्दा बढी मत्स्यजन्य उत्पादन निर्यात गरेको छ । मत्स्य विभागले शनिबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अप्रिल महिनादेखि शुरु भएको यस आर्थिक वर्षको पाँच महिनामा उक्त परिमाणको निर्यातबाट २२ करोड ५० लाख अमेरिकी डलरभन्दा बढी वैदेशिक मुद्रा आर्जन भएको छ । विभागकाअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्षको निर्यात परिमाणमा केही गिरावट आएको छ । गत वर्षको सोही अवधिमा म्यानमारले १ लाख ५३ हजार ९२६ टनभन्दा बढी मत्स्यजन्य सामग्री निर्यात गरेको थियो । म्यानमारले हाल चीन, थाइल्याण्ड, मध्यपूर्व र युरोपका विभिन्न राष्ट्रहरूसहित करिव ४० देशमा आफ्ना मत्स्यजन्य उत्पादनहरू निर्यात गर्दै आएको छ । विभागको तथ्याङ्कअनुसार गत पूर्ण आर्थिक वर्षमा म्यानमारले कूल ४ लाख ६३ हजार टनभन्दा बढी मत्स्यजन्य उत्पादन निर्यात गरेको थियो ।




