चीनले अन्तरिक्ष प्रविधिको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै बुधवार बिहान पुनः प्रयोग गर्न मिल्ने ‘जुके–३’ रकेटको सफल परीक्षण गरेको छ । यस परीक्षणका क्रममा रकेटको पहिलो चरणलाई पहिलो पटक सफलतापूर्वक जमिनमा अवतरण गराइएको हो । प्रक्षेपणको केही समयपछि रकेटको उक्त खण्डले निश्चित लक्ष्यमा सुरक्षित अवतरण गरेको थियो । यस ऐतिहासिक क्षणलाई पिओभी क्यामेराबाट कैद गरिएको एक भिडियोमा रकेटको उडानदेखि अवतरणसम्मका दृश्यहरू स्पष्ट रूपमा देख्न सकिन्छ । चीनले रकेटको पहिलो चरणलाई जमिनमा सुरक्षित रूपमा फर्काएको यो पहिलो अवसर हो । पुनः प्रयोग गर्न मिल्ने यस प्रविधिको सफल परीक्षणले भविष्यमा अन्तरिक्ष अभियानको लागत कम गर्न र प्रक्षेपण प्रक्रियालाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।




