काँग्रेसलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा अपरिहार्यः उपसभापति शर्मा | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

काँग्रेसलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा अपरिहार्यः उपसभापति शर्मा

काठमाडौँ ।

नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र समुन्नतिको यात्रालाई गति दिन नेपाली काँग्रेस पार्टीभित्र सुदृढ एकता आवश्यक रहेको बताउनुभएको छ । शुक्रवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उहाँले पार्टीको आन्तरिक सुदृढीकरण नै देशको आवश्यकता भएको उल्लेख गर्नुभएको हो । उपसभापति शर्माले पार्टीभित्र देखिएका कतिपय प्रतिकूलता र भिन्न मतका बीच पनि पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले विशेष महाधिवेशनबाट व्यक्त भएको कार्यकर्ताको भावना र दृढताकै जगमा आगामी दिनमा पार्टी अझ बलियो भएर जाने विश्वास व्यक्त गर्नुभयो । पार्टीका नेता–कार्यकर्ताहरूमा रहने व्यक्तिगत सम्बन्ध र निष्ठाको सम्मान गर्दै शर्माले व्यक्तिभन्दा संस्था र सिद्धान्तप्रतिको निष्ठा माथि हुने बताउनु भयो ।

गत वैशाख ४ गते सर्वोच्च अदालतको डिभिजन बेन्चले निर्वाचन आयोगको अद्यावधिकलाई सदर गर्दै रिट खारेज गरेपछिको परिस्थितिबारे चर्चा गर्दै शर्माले यसलाई कसैको जित वा हारको रूपमा हेर्न नहुने बताउनु भयो । उहाँले अदालतको फैसला आएको ४८ घण्टाभित्रै नेतृत्वले संवादको प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । उपसभापति शर्माले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व (गगन थापा) को नेतृत्वमा नेपाली काँग्रेसले सबल राष्ट्रिय शक्तिको भुमिका निर्वाह गर्ने कुरामा आफू पूर्ण दृढ रहेको बताउनु भयो । राजनीतिक विषयहरू मूलतः राजनीतिक ढंगले नै हल हुने भएपनि कहिलेकाहीँ कानूनी निरूपण आवश्यक हुने र ती सबै प्रक्रियालाई पार्टीको विधान, संविधान र इतिहासको निरन्तरताको जगमा सम्बोधन गरिने उहाँको भनाइ छ ।

Leave a Reply