कान्ति राजमार्गको स्तरोन्नति तिब्रः ५० प्रतिशत भौतिक प्रगति, समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीको दाबी | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

कान्ति राजमार्गको स्तरोन्नति तिब्रः ५० प्रतिशत भौतिक प्रगति, समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीको दाबी

काठमाडौ । सङ्घीय राजधानी काठमाडौंलाई हेटौँडासँग जोड्ने सबैभन्दा छोटो मार्गको रूपमा रहेको कान्ति राजमार्गको स्तरोन्नति कार्यले तिब्रता पाएको छ ।
राजमार्गलाई फराकिलो बनाउने, कटिङ गर्ने र मोड सुधार गर्ने कार्यका लागि कान्ति राजमार्ग सडक योजनाले तीन खण्डमा विभाजन गरी निर्माण प्रक्रिया अगाडि बढाएको छ । यस राजमार्गको कुल लम्बाई ८० किलोमिटर रहेको छ । हेटौँडाको बुद्ध चोकदेखि ललितपुरको एकान्तकुनासम्म फैलिएको यस सडकको मकवानपुर खण्डमा ५० किलोमिटर र ललितपुर खण्डमा ३० किलोमिटर पर्दछ । योजनाका इन्जिनियर उपेन्द्र महारानकाअनुसार हाल ललितपुरको लेलेदेखि मकवानपुरको बकैयासम्मको २१ किलोमिटर खण्डको स्तरोन्नति कार्य धमाधम भइरहेको छ ।
लेले–बकैया खण्डको स्तरोन्नति तथा पहिरो नियन्त्रणका लागि २०८२ जेठ २१ गते ठेक्का सम्झौता भएको थियो । इन्जिनियर महारानले हालसम्म यस खण्डको भौतिक प्रगति करिव ५० प्रतिशत पुगेको जानकारी दिनुभयो । यसअघिको अभिलेखमा ४ किलोमिटर मात्र कालोपत्रे गर्ने उल्लेख भएपनि हाल बाढी–पहिरो नियन्त्रणसहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार काम भइरहेको योजनाले जनाएको छ । बढी भिरालो र पानी जम्ने (वाटर लगिङ) क्षेत्रहरूमा रिजिड पेभमेन्ट (सिमेन्ट कङ्क्रिट) र बाँकी भागमा अस्फाल्ट कालोपत्रे गर्ने योजना रहेको छ ।
उहाँले भन्नुभयो, ‘सम्झौता अनुसार तोकिएको माइलस्टोन पछ्याउँदै काम भइरहेको छ । अहिले मुख्य रूपमा स्ट्रक्चर (संरचना) निर्माणको काम भइरहेको छ । दुई लेन नपुगेका ठाउँमा सडक फराकिलो बनाउने र मोडहरू सुधार गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।’
निर्माणको जिम्मा पाएको कन्काई–ब्राइट मल्टि–दिव्यज्योति जेभीका सञ्चालक राजकुमार बुढाथोकीले विपद्जन्य योजना भएकाले जोखिमयुक्त क्षेत्रहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । हाल सडक खण्डमा प्लम वाल, ग्याबिन जाली लगाउने र कटिङ गर्ने कार्य भइरहेको छ । आउने वर्षमा रोड सेफ्टी लगायतका काममा लागेको बताउनु भयो । उहाँले वर्षैपिच्छे ठूलो पहिरो आएर गाडीहरु रोकिरहने समस्या रहेको बताउनु भयो । सबैकुरा सहज भएको अवस्थामा भुक्तानी, निर्माणजन्य कुराहरु र बिटुमिन लगायतका सामग्री सबै आवश्यक जति पाइए र सरकारले निर्माण कार्यको वातावरण बनाए समयमै काम सकिने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले हामी ६३ किलोमिटर चेनेजमा काम गरिरहेका छौँ । यस खण्डमा रहेका छपेली र टाकुरचे पहिरो मुख्य चुनौतीका रूपमा रहेका छन् ।’
वर्षायाममा यी क्षेत्रमा पहिरो जाँदा यातायात अवरुद्ध हुने गरेकाले यस पटक पहिरो नियन्त्रणका लागि विशेष कार्य भइरहेको उहाँको भनाइ छ । निर्माण व्यवसायीले आगामी वर्षभित्र रिजिड पेभमेन्ट, ब्ल्याक टप (कालोपत्रे) र सडक सुरक्षाका लागि बायो–इन्जिनियरिङका कामहरू सक्ने लक्ष्य राखेको छ । २०८२ जेठ २१ गतेसम्मको समयसीमा रहेको यस आयोजनामा कुनै अवरोध नभए निर्धारित समयमै काम सम्पन्न हुने निर्माण कम्पनीको दाबी छ । निर्माण व्यवसायीले राज्यका तर्फबाट समयमै भुक्तानी, बिटुमिन तथा इन्धनको सहज आपूर्ति र मूल्य वृद्धिको सम्बोधन भएमा काम गर्न थप सहज हुने उल्लेख गरेका छन् । राजधानी जोड्ने यो वैकल्पिक मार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौं र हेटौँडाबीचको यात्रा सहज र छोटो हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

ताजा समाचार