मार्गप्रशस्त गर्न सरकारलाई श्रम संस्कृति पार्टीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

साउन १३ २०८३, बिहीबार

मार्गप्रशस्त गर्न सरकारलाई श्रम संस्कृति पार्टीको आग्रह

काठमाडौँ ।

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले देशको पछिल्लो सुरक्षा अवस्था र सरकारको कार्यशैलीप्रति आपत्ति जनाउनुभएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले सरकार नागरिकको सुरक्षा र संसदको गरिमाप्रति बेखबर रहेको आरोप लगाउनु भयो । सम्बोधनका क्रममा प्रमुख सचेतक राईले प्रधानमन्त्रीले दुई महिनाअघि रोस्टमबाट दिएको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति अझै सच्याउन वा रेकर्डबाट हटाउन पहल नभएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । देशका विभिन्न स्थानमा हिंसा र हत्याका घटना बढ्दै गएको उल्लेख गर्दै उहाँले सरकार कतै नदेखिएको टिप्पणी गर्नुभयो । सांसद राईले देशमा सामाजिक र धार्मिक सद्भाव कायम राख्न मेचीदेखि महाकालीसम्मका सम्पूर्ण नागरिक तथा संघसंस्थाहरूलाई संयमित हुन अपिल गर्नुभयो । उहाँले उत्तेजना फैलाउने खालका भिडियो वा लेखहरू सार्वजनिक नगर्न सञ्चारकर्मी तथा आम नागरिकलाई आग्रह गर्दै सरकारले आफ्ना आधिकारिक धारणा फेसबुकबाट नभई औपचारिक माध्यमबाट सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘दिउँसै गोली चल्ने र असुरक्षा बढ्ने क्रम जारी छ, तर सरकार अन्धकारमा बसेर सबै ठिक छ भन्दै बसेको छ । सरकार अब भित्र लुकेर होइन, बाहिर निस्केर जनतालाई सुरक्षाको अनुभूति गराउनुपर्छ । बल प्रयोगले मात्र परिणाम दिँदैन, सरकार गम्भीर भएर लाग्नुपर्छ। यदि सरकारले देश चलाउन नसक्ने अवस्था हो भने सक्दिन भनेर हात उठाए हुन्छ, तर देशलाई अभिभावकविहीन र जनतालाई टुहुरो बनाउन पाइँदैन ।’सदनमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिलाई लिएर प्रश्न उठाउँदै राईले बल प्रयोग गरेर समस्याको समाधान नहुने चेतावनी दिनुभयो । विगतका जनआन्दोलन र शहीदहरूको बलिदानको स्मरण गराउनु भयो । पछिल्लो गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै सरकारले कि त प्रभावकारी रूपमा काम गर्नुपर्ने, कि त मार्गप्रशस्त गर्नुपर्ने माग राख्नुभयो ।

Leave a Reply