काठमाडौं ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न एक महिने बारिष्टा तालिम दिईएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालको संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) को सहयोग तथा ब्लु डायमण्ड सोसाइटी (बीडिएस) को समन्वयमा बारिष्टा तालिम दिइएको हो । सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेर एक महिने तालिमको समापन समेत गरिएको छ । तामिलमा सहभागीहरुलाई एक कार्यक्रमका बीच एसटीपीका राष्ट्रिय परियोजना प्रमुख धर्मराज दवाडी, ब्लु डायमण्ड सोसाइटीकी पूर्वअध्यक्ष पिङ्की गुरुङ र अध्यक्ष उमेश पाण्डे (उमेशा)ले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा एसटीपीका राष्ट्रिय परियोजना प्रमुख धर्मराज दवाडीले पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने कार्यक्रमअन्तर्गत कम्तीमा ४० प्रतिशत सहभागिता यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबाट सुनिश्चित गर्ने नीति लिएको जानकारी दिनुभयो । यसअघि पनि यस समुदायका लागि नेपालमै पहिलो पटक ट्रेकिङ गाइड तालिम सञ्चालन गरिएको स्मरण गराउँदै उहाँले अहिले बारिष्टासँगै स्पा तथा मसाजसम्बन्धी तालिम पनि सञ्चालन गरिएको बताउनु भयो । उहाँकाअनुसार तालिमपछि रोजगारीसँग जोड्ने, सामूहिक रूपमा स्पा सेन्टर स्थापना गर्ने तथा पर्यटन क्षेत्रका विभिन्न सेवा प्रदायकसँग समन्वय गरी रोजगारीका अवसर विस्तार गर्ने योजना अघि बढाइएको छ । सहभागीलाई आफैं पनि सक्रिय भएर होटल, रेस्टुरेण्ट तथा अन्य सेवा क्षेत्रमा रोजगारी खोज्न उहाँले आग्रह गर्नुभयो
।ब्लु डायमण्ड सोसाइटीकी पूर्वअध्यक्ष पिङ्की गुरुङले सीप नै व्यक्तिको सबैभन्दा ठूलो सम्पती भएको उल्लेख गर्दै अधिकारको सुनिश्चिततासँगै आर्थिक रूपमा सक्षम हुन व्यावसायिक सीप अपरिहार्य रहेको बताउनु भयो । उहाँले समुदायका सदस्यहरूलाई आत्मनिर्भर बनाउन पर्यटन, निजी क्षेत्र तथा अन्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा बीडिएसले निरन्तर काम गरिरहेको जानकारी दिनुभयो । उहाँले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व हरेक क्षेत्रमा बढ्दै गएमात्र समावेशी वातावरण निर्माण हुने र समुदायका अधिकार थप सशक्त बन्ने उल्लेख गर्नुभयो ।ब्लु डायमण्ड सोसाईटीका अध्यक्ष उमेश पाण्डे (उमेशा)ले सीप सिकेरमा मात्रै नहुने उल्लेख गर्दै तालिममा सहभागीहरुलाई सीपको सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले लक्ष्यमा पुग्नको लागि संघर्ष गर्नुपर्ने बताउनु भयो ।
उहाँले आफूले सिकेको सीपको सही सदुपयोग गरे नेपालको पर्यटन क्षेत्रमा योगदान दिन सकिने बताउनु भयो । सीप भएर मात्रै नहुने बताउँदै उहाँले रोजगारीको सिर्जना पनि कहिलेकहीँ आफैँले गर्नुपर्नेमा जोड दिनुभयो । बीडिएसले पनि समुदायको लागि रोजगारी सिर्जना गर्न पहल गरिरहेको उहाँको भनाई छ ।तालिममा सहभागी श्याम ढकाल, मौसमी गुरुङ, एञ्जल थापा र कल्पना थापाले तालिमबाट आफूहरुमा व्यावसायिक ज्ञान र आत्मविश्वास दुवै बढेको बताए । उनीहरुले अब पर्यटन क्षेत्रमा रोजगारी गर्ने तथा भविष्यमा आफ्नै कफी सप सञ्चालन गर्ने लक्ष्य रहेको बताए । उनीहरूले भविष्यमा आफ्नै व्यवसायमार्फत समुदायका अन्य सदस्यलाई समेत रोजगारी दिने योजना रहेको सुनाए ।तालिममा ३२ जना सहभागी थिए । सहभागीहरुलाई टिटुङ क्याफेले बारिष्टासम्बन्धी तालिम दिएको थियो ।




