तिलगंगा बस्ती हटाएको विरोधमा ७५ दिनदेखि स्थानीय धर्नामा | ईमाउण्टेन समाचार

Our Network

असार ३१ २०८३, बिहीबार

तिलगंगा बस्ती हटाएको विरोधमा ७५ दिनदेखि स्थानीय धर्नामा

काठमाडौं ।

तिलगंगा बस्ती हटाएको विरोधमा स्थानीयहरु ७५ दिनदेखि पशुपति क्षेत्र विकास कोष अगाडी धर्नामा बसेका छन् । सरकारले आफूहरुलाई अन्यायपूर्ण तरिकाले विस्थापित गरेको उनीहरुको गुनासो छ । सरकारले वागमती नदी किनारमा रहेका बस्ती हटाउने क्रममा गत वैशाख १८ र १९ गते तिलगंगा क्षेत्र (ब्लक बी–१३) का बस्ती पनि हटाएको थियो । स्थानियहरुले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयन गर्ने क्रममा भएको सम्झौता पालना नगरी आफूहरुलाई सकुम्बासीको दर्जामा राखेर विस्थापित गरेको गुनासो गरेका छन् । उनीहरुले आफूहरु सुकम्बासी वा जग्गा अधिक्रमण गर्ने नभई जग्गाधनीपुर्जावाला स्थानीय भएको बताएका छन् । पशुपति विकास कोषले पूर्वसहमति कार्यान्वयन नगरी आफ्नो बस्ती भत्काएको उनीहरुको आरोप छ । उनीहरुले अब १० दिन शान्तिपूर्ण धर्नालाई निरन्तता दिने र सुनुवाइ नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

स्थानीय पीडित सुदर्शन गौतमले आफूहरू लालपूर्जा, भवन निर्माण सम्पन्न प्रमाणपत्र तथा राज्यलाई कर तिरेर कानुनी रूपमा बसोवास गर्दै आएको बस्तीका बासिन्दा भएको बताउनु भयो । उहाँकाअनुसार पशुपति विकास कोषले २०५३ सालमा ल्याएको गुरुयोजनामा तिलगंगा बी–१३ सहित सात बस्तीलाई स्थानान्तरण गर्ने व्यवस्था गरिएको थियो, यसमध्ये पाँच बस्ती स्थानान्तरण भइसकेका छन् । आफूहरुको बस्तीको हकमा सहमति कार्यान्वयन नगरी सिधै डोजर चलाइएको उहाँको गुनासो छ । उहाँले सुकुम्बासी बस्ती हटाउने क्रममा आफूहरूको कानूनी बस्तीलाई पनि त्यही सरह व्यवहार गर्दै प्रहरी परिचालन गरेर भत्काएको आरोप लगाउनु भयो । उहाँकाअनुसार बस्ती स्थानान्तरणसम्बन्धी निर्णय मन्त्री, सचिव, सहसचिवसहित १७ निकायका प्रतिनिधि सहभागी भएको उच्चस्तरीय सहमतिका आधारमा भएको थियो । तर उक्त निर्णय कार्यान्वयन नगरी बस्ती भत्काइएकाले आफूहरू बेघर बनेको उहाँको भनाई छ । हालै बसेको पशुपति विकास कोष परिषद् बैठकबाट पनि कुनै ठोस निर्णय नआएको उहाँले बताउनु भयो । स्थानियहरुले सरकार तथा कोषलाई तत्काल सहमति कार्यान्वयन गरी समस्या समाधान गर्न आग्रह गरेका छन् ।

Leave a Reply

ताजा समाचार