काठमाडौं ।
प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र साहलाई सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्न सुझाव दिनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा सरकारले सय दिन पूरा गरेको सन्दर्भसहित आफ्नो धारणा राख्ने क्रममा उहाँले यसदिशातर्फ प्रधानमन्त्री साहको ध्यानाकर्षण गराउनुभएको हो । नेता आङदेम्बेले सामाजिक सञ्जालमार्फत लोकप्रिय हुने नाममा भ्रमपूर्ण जिन्दगी कटाउन उचित नहुनेतर्फ पनि प्रधानमन्त्री साहलाई सचेत गराउनु भयो । उहाँले प्रधानमन्त्रीको रुपमा मुलुकलाई सही ढंगले हाँक्न पनि आग्रह गर्नुभयो । त्यस अवसरमा नेता आङदेम्बेले प्रधानमन्त्री साह संसदप्रति उत्तरदायी नभएको गुनासो पनि गर्नुभयो ।
उहाँले धुरीमा चढेपछि सिँढी भुल्नु हुँदैन लोकोक्तिलाई स्मरण गराउँदै प्रधानमन्त्री साहलाई संसद नभुल्न पनि अनुरोध गर्नुभयो ।नेता आङदेम्बले संसदमा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई प्रभावकारी प्रधानमन्त्री साहले ठानेको उल्लेख गर्दै यस्तो गतिविधिले संसदको गरिमा कायम नरहने जिकिर पनि गर्नुभयो ।




