काठमाडौं ।
सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले पाँच वर्ष नाघेका पुराना मुद्दाहरूलाई छिटो किनारा लगाउने अदालतको लक्ष्यमा पछिल्लो समय विकसित परिस्थितिले चुनौती थपेको बताउनुभएको छ । गत वर्ष आठ वर्ष पुराना मुद्दाहरू फस्र्यौट गरी उल्लेख्य प्रगति गरेको अदालतले यस वर्ष पाँच वर्ष नाघेका मुद्दाहरूलाई शुन्यमा झार्ने लक्ष्य लिएको थियो । तर गत वर्षको भदौ २३ र २४ गतेका घटना र त्यसपछिको असहज परिस्थितिका कारण उक्त लक्ष्य प्राप्तिमा अवरोध पुगेको न्यायाधीश पौडेलले बताउनु भयो । उहहाँले प्रतिकूल परिस्थितिका बाबजुद आगामी दिनमा कार्यसम्पादन बढाएर यसलाई व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
न्यायपालिकाको स्वतन्त्रताको विषयमा बोल्दै न्यायाधीश पौडेलले न्यायालय सधैँ स्वतन्त्र न्यायपालिकाको हिमायती रहेको र रहने स्पष्ट पार्नुभयो । उहाँले सञ्चारमाध्यमलाई न्यायपालिकाको आवाज जनमानसमा पु¥याउने सहयात्री र परिपूरकका रूपमा चित्रण गर्नुभयो । पछिल्लो समय चर्चामा रहेको ‘मिडिया ट्रायल’ र समाचार संप्रेषणको सीमाका सम्बन्धमा उहाँले सर्वोच्च अदालतबाट भएका विभिन्न फैसलाहरूले यसको परिधि स्पष्ट पारिसकेको बताउनु भयो । प्रेस स्वतन्त्रता र अदालतको अवहेलनाबीचको सन्तुलनका विषयमा तीर्थप्रसाद पोखरेल, गोविन्द केसी र सिधाकुरा डटकमसँग सम्बन्धित मुद्दाहरूमा अदालतले स्कोप र सीमाहरू व्याख्या गरिसकेको उहाँले उल्लेख गर्नुभयो । अदालतले न्याय सम्पादनलाई शिघ्र र प्रभावकारी बनाउन आफ्नोतर्फबाट प्रयास जारी राखेको बताउँदै उहाँले वस्तुगत परिस्थितिलाई बुझिदिन आम जनसमुदाय र सञ्चारकर्मीहरूसमक्ष आग्रह समेत गर्नुभयो ।





