प्रधानमन्त्री साहले सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिको राष्ट्रिय सभामा चर्को विरोध | ईमाउण्टेन समाचार

Our Network

जेठ १७ २०८३, सोमबार

प्रधानमन्त्री साहले सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिको राष्ट्रिय सभामा चर्को विरोध

राष्ट्रिय सभाका सांसदहरुले प्रधानमन्त्री बालेन्द्र साहले आईतवार प्रतिनिधि सभाको बैठक दिएको सीमासम्बन्धी अभिव्यक्तिको चर्को चर्को आलोचना गर्दै आपत्ति जनाएका छन् ।
सभाको सोमवारको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले प्रधानमन्त्री साहले नेपालले पनि भारतको सीमा मिचेको भन्दै दिएको अभिव्यक्ति मुलुकको सार्वभौमिकता विपरित रहेको भन्दै आपत्ति जनाएका हुन् । बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद रञ्जित कर्णले प्रधानमन्त्रीले नेपालले भारतको भूमि अतिक्रमण प्रमाण २४ घण्टाभित्र सार्वजनिक गनर्नुपर्ने माग गर्नुभयो । उहाँले नेपालले भारतको कुन–कुन क्षेत्रमा नेपाली पक्षबाट भूमि अतिक्रमण भएको हो ? भन्ने तथ्य सार्वजनिक गर्नुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्रीले आफ्नो भनाइ पुष्टि गर्न नसके सार्वजनिक रूपमा माफी माग्नुपर्ने समेत बताउनु भयो । उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिको छानविनि गर्न समिति गठन गर्न समेत माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हिजो सम्मानीय प्रधानमन्त्रीज्यूले नेपालले पनि भारतको सीमा मिचेको स्वीकार गर्नुभयो । म उहाँहरुलाई आग्रह गर्न चाहन्छु, नेपाल सरकारले भारतको कुन कुन ठाउँमा जग्गा मिचेको छ २४ घण्टाभित्र जानकारी गराउन अनुरोध गर्न चाहान्छु । यदि उहाँले सो कुराको प्रमाणित गर्न सक्नु भएन भने उहाँले सार्वजनिक रुपमा माफी माग्नुपर्छ । यस विषयमा छानविन गर्न समिति गठन गर्न समेत सभासमक्ष माग गर्दछु । साथसाथै राष्ट्रिय सभामा सम्माननीय प्रधानमन्त्रीज्यूसँग हाम्रो धेरै विषयवस्तु छ । किनभने उहाँ जेनजी पुस्ताको प्रतिनिधि पात्र पनि हो । जेनजीको समस्या समाधानका लागि बजेट र नीति तथा कार्यक्रममार्फत कसरी समाधान गर्ने प्रयास गर्नुभएको छ ?’
नेकपाकी सांसद राजेन्द्रलक्ष्मी गैरेले प्रधानमन्त्री शाहले संसदको रोष्ट्रमबाट भारतको वकालत गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले प्रधानमन्त्री शाहदे कुन आधारमा नेपालले समेत भारतको सीमा अतिक्रमण गरेको अविव्यक्ति दिएको ? भन्दै प्रश्न गर्नुभयो । उहाँले प्रधानमन्त्री शाहको सीमासम्बन्धी अभिव्यक्ति देशद्रोही भएको आरोप समेत लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘इतिहासमा पहिलो पटक नेपालको संसदबाट भारतको वकालत गरेको सुनियो । प्रधानमन्त्री बालेन्द्र शाहले कुन आधारमा उक्त धारणा व्यक्त गर्नुभएको हो ? स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । यो देशद्रोही काम हो ।’
नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शाहले सीमासम्बन्धी प्रतिनिधि सभामा दिएको अभिव्यक्तिले स्वाभिमानी नेपाली नागरिकको शीर निहुरिएको टिप्पणी गर्नुभयो । उहाँले नेपाल सार्वभौमसत्ता मुलुक भएको उल्लेख गर्दै मुलुकको हितविरोधी अभिव्यक्ति स्वीकार्य नहुने अभिव्यक्ति दिनुभयो । उहाँले भारतले नेपालका करिब ६२ स्थानमा भूमि अतिक्रमण गरी सुरक्षा तैनाथ गरेको समेत बताउनु भयो । उहाँले रास्वपा सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति असावधानीले बोलिएको नभई यसको पछाडि गम्भीर कारण रहेको समेत टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा दिएको अभिव्यक्तिले स्वाभिमानी नेपालीको शीर निहुरिएको छ । लज्जावोध भएको छ । इतिहासका विधिन्न दस्तावेजहरुले नेपाल सार्वभौमसत्ता मुलुक हो भन्छ । र नेपालको सीमासम्बन्धी विषय समेत विभिन्न दस्तावेजहरुमा उल्लेख छ । हामीले विद्यार्थी राजनीति गरिरहेके समयमा नेपालका ६२ वटा ठाउँमा सीमा मिचिएको कुरा उठाएका थियौँ । त्यति मात्र होइन सीमा मिचिएको ठाउँमा भारतीय सेना र प्रहरी समेत छन् । यस्तो अवस्थामा रास्वपाका सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री बालेन्द्र शाहले कन्सर्टमा आएजस्तै प्रतिनिधि सभामा बिनासूचना, प्रतिनिधि सभा नियमावलीको विरुद्धमा जे कुरा बोल्नु भएको छ । त्यो जिब्रो चिप्लिएर वा असावधानीले बोलिएको हो भन्ने हामीलाई लाग्दैन । यसको पछाडि केही गहिरो कारण छ । र स्वाभिमानी नेपालीले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।’
प्रतिनिधि सभाको आईतवारको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिनेक्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको पाइएको अभव्यिक्ति दिनुभएको थियो । उहाँले प्रधानमन्त्री भएपछि सीमासम्बन्धी विषयमा नयाँ तथ्यहरू फेला परेको उल्लेख गर्दै दुवै पक्षबाट सीमा अतिक्रमण भएको पाइएको जानकारी दिनुभयो ।
‘भारतले नेपालको जग्गा मात्र नभई, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको तथ्य प्रधानमन्त्री भएपछि जानकारीमा आएको छ ।’ उहाँको भनाइ थियो ।
प्रधानमन्त्री शाहको यही अभिव्यक्तिलाई लिएर विपक्षी दलहरुले संसद चल्न नदिने बताइरहेका छन् । प्रधानमन्त्री शाहले नागरिकसमक्ष माफी माग्दै आफ्नो अभव्यक्ति सच्याउनुपर्ने उनीहरुको माग छ ।

Leave a Reply

ताजा समाचार