‘उत्पादन र प्रशारणको सन्तुलित विकास नहुँदा ऊर्जा क्षेत्रमा चुनौती थपियो’: अध्यक्ष श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

असार ३२ २०८३, शुक्रबार

‘उत्पादन र प्रशारणको सन्तुलित विकास नहुँदा ऊर्जा क्षेत्रमा चुनौती थपियो’: अध्यक्ष श्रेष्ठ

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको ऊर्जा क्षेत्रको दिगो विकासका लागि उत्पादन र प्रशारण पूर्वाधारको समानान्तर योजना आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताउनुभएको हो । अध्यक्ष श्रेष्ठले ऊर्जालाई विश्वव्यापी रणनीतिक स्रोतको रूपमा चित्रण गर्दै नेपालले आफ्नो प्राकृतिक स्रोतको सही समयमा सदुपयोग र परिचालन गर्न नसके भविष्यमा भू–राजनीतिक जोखिम बढ्न सक्ने चेतावनी दिनुभयो । नेपालको विद्युत जडित क्षमता ४ हजार १ सय ३० मेगावाट पुग्नु र करिव १ हजार ३ सय मेगावाटसम्म निर्यात हुनुमा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको उहाँले उल्लेख गर्नुभयो । सरकारको सन् २०३५ सम्म २८ हजार मेगावाट उत्पादन गर्ने र १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्यलाई निजी क्षेत्रले स्वागत गरेको बताउँदै उहाँले निजी क्षेत्र अब ठूला आयोजनाहरू निर्माण गर्न प्राविधिक र आर्थिक रूपमा सक्षम भइसकेको दाबी गर्नुभयो । योजनावद्ध विकासको अभावमा ऊर्जा क्षेत्रले ठूलो चुनौती खेपिरहेको उहाँको तर्क छ । ऊर्जा आयोजना र औद्योगिक विकासका लागि जग्गा प्राप्ति मुख्य वाधक रहेको औंल्याउँदै उहाँले ‘ल्याण्ड पुलिङ’ को अवधारणा कार्यान्वयन गर्न सरकारलाई सुझाव दिनुभयो । विकास निर्माणका लागि निश्चित क्षेत्रको जग्गा लिएर परियोजना सम्पन्न भएपछि बाँकी जग्गा र उचित क्षतिपूर्ति दिने वैज्ञानिक पद्धति अवलम्वन गरे मात्र जग्गा सम्बन्धी विवाद समाधान हुने उहाँको भनाइ छ । अध्यक्ष श्रेष्ठले औद्योगिक क्षेत्रमा भइरहेको ‘अघोषित लोडसेडिङ’ प्रति आपत्ति प्रकट गर्नुभयो । काठमाडौंमा लोडसेडिङ अन्त्य भएको भनिए पनि तराईका औद्योगिक कोरिडोरमा टेलिफोनका भरमा उद्योग बन्द गर्न लगाइने गरेको उहाँले आरोप लगाउनु भयो ।

नीतिगत स्थिरताको अभाव र पीपीए (विद्युत खरिद सम्झौता) मा हुने ढिलाइले लगानीकर्तामा अन्योल सिर्जना गरेको बताउँदै उहाँले कुनैपनि व्यक्तिको वा क्षेत्रको क्षतिलाई राष्ट्रकै क्षतिका रूपमा लिएर सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सञ्चारमाध्यमलाई पनि औद्योगिक क्षेत्रले भोगिरहेका यस्ता वास्तविक समस्याहरूलाई उजागर गरिदिन आग्रह गर्नुभयो ।

Leave a Reply

ताजा समाचार