काठमाडौँ ।
नेपाली काँग्रेसका नेता तेजुलाल चौधरीले थारु समुदायलाई राजनीतिक दलहरूले केवल ‘भोट बैंक’ को रूपमा मात्र प्रयोग गरेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । सानेपामा आयोजित नेपाल थारु संघको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै कार्यक्रममा बोल्दै नेता चौधरीले थारु समुदायको मुद्दा र प्रतिनिधित्वको सवालमा काँग्रेस गम्भीर नभएको आरोप लगाउनुभएको हो । पूर्वमन्त्रीसमेत रहनुभएका नेता चौधरीले देशमा सातवटा प्रदेश रहँदा पनि थारुहरूको बाहुल्यता रहेका क्षेत्रमा समेत उचित प्रतिनिधित्व नगराइएकोमा आपत्ति जनाउनु भयो ।
मधेस प्रदेशमा जनसङ्ख्या कम भएपनि थारुहरूले लडेर मन्त्री पद लिएको उदाहरण दिँदै उहाँले अन्य प्रदेशमा पार्टीले थारु समुदायलाई उपेक्षा गरेको बताउनु भयो । संविधान कार्यान्वयनको सन्दर्भमा बोल्दै नेता चौधरीले २०७२ सालमा संविधान घोषणा भएको लामो समय बितिसक्दा पनि निजामती सेवा ऐनमा थारु समुदायका लागि आरक्षणको व्यवस्था सुनिश्चित हुन नसकेको उल्लेख गर्नुभयो । थारुहरूले आफ्ना हकका लागि पटक–पटक कानुनी र राजनीतिक लडाइँ लड्नुपरेको तर पार्टीका अन्य नेताहरूले यसमा साथ नदिएको उनको गुनासो छ । नेता चौधरीले टीकापुर घटनासम्बन्धी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न समेत माग गर्नुभयो । उहाँले संसदीय दलका नेता र पार्टी नेतृत्वलाई उक्त प्रतिवेदन प्रकाशनका लागि सदन र सरकारमा आवाज उठाउन आग्रह गर्नुभयो । थारु समुदायको वास्तविक समर्थन चाहने हो भने उनीहरूमाथि न्याय हुनुपर्ने र आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरिनुपर्ने उहाँको भनाइ छ ।




