काठमाडौँ ।
नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले देशको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको छ । जनकपुरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र र संविधानको रक्षाका लागि काँग्रेस कार्यकर्ताहरू पुनः जागरुक हुनुपर्ने बताउनुभएको हो । नेता सिटौलाले मुलुकको राजनीतिक वृत्त अहिले सही ढङ्गले अगाडि नबढेको टिप्पणी गर्नुभयो । सिटौलाले राज्य सञ्चालनका प्रमुख अङ्गहरू—न्यायपालिका, प्रशासन, सुरक्षा निकाय र संसद् लगायतका गतिविधिहरू सन्तोषजनक नरहेको औँल्याउनु भयो । नेपाली काँग्रेसको इतिहास स्मरण गर्दै नेता सिटौलाले वि.सं. २००७ सालको क्रान्तिमा तराई क्षेत्र, विशेष गरी विराटनगर, जनकपुर र वीरगन्जले खेलेको नेतृत्वदायी भुमिकाको चर्चा गर्नुभयो । तराईकै क्रान्तिको बलमा नेपालमा प्रजातन्त्रको उदय भएको र जनताले ‘रैती’ बाट ‘नागरिक’ को पहिचान पाएको उहाँको भनाइ छ ।
संविधानको रक्षा र संशोधनका विषयमा बोल्दै नेता सिटौलाले संविधानको मूल चरित्र र समानुपातिक समावेशी सिद्धान्तलाई कुनैपनि हालतमा कमजोर पार्न नहुनेमा जोड दिनुभयो । पार्टीभित्रको आन्तरिक अवस्था र नेतृत्वको कार्यशैलीप्रति सङ्केत गर्दै उहाँले शासक र नेताहरूमा जवाफदेहिताको अभाव देखिन थालेको बताउनु भयो । नेताहरूमा बढ्दै गएको श्वेच्छाचारी प्रवृत्तिविरुद्ध निरन्तर सङ्घर्ष गर्नु नै नेपालको सही राजनीतिक आत्मा हुने उहाँको तर्क छ । जनताको अधिकार, आर्थिक समृद्धि र पहिचानका लागि शहीद तथा अग्रजहरूले देखाएको बाटोमा विचलित नभई अगाडि बढ्नु नै उनीहरूप्रति सच्चा श्रद्धाञ्जली हुने भन्दै सिटौलाले कार्यकर्ताहरूलाई कर्तव्यबोधका साथ जिम्मेवारी वहन गर्न आह्वान समेत गर्नुभयो ।




