दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री हानद्वारा सर्वोच्च अदालतमा पुनरावेदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८३, मंगलबार

दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री हानद्वारा सर्वोच्च अदालतमा पुनरावेदन

दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हान डक–सुको कानुनी टोलीले आफूमाथि सुनाइएको १५ वर्षको जेल सजाय विरुद्ध सोमबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ । पूर्वराष्ट्रपति युन सुक–योलको राज्यद्रोहमा सहयोग गरेको अभियोगमा उच्च अदालतले उनको सजाय घटाएर १५ वर्ष कायम गरेलगत्तै यो कदम चालिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । गत बिहीवार सियोल उच्च अदालतले तल्लो अदालतको २३ वर्षको जेल सजायलाई उल्ट्याउँदै हानको सजाय १५ वर्षमा झार्ने फैसला गरेको थियो । सन् २०२४ डिसेम्बरमा तत्कालीन राष्ट्रपति युनले घोषणा गरेको अल्पकालीन सैनिक शासनसँग सम्बन्धित राज्यद्रोहमा सहयोग र प्रोत्साहन गरेको अभियोगमा हान दोषी ठहर भएका हुन् । अदालतले हानले मुलुकको दोस्रो वरियताको पदमा रहेर आफ्नो गम्भीर जिम्मेवारीको उपेक्षा गर्दै राज्यद्रोहमा सामेल भएको उल्लेख गर्दै उनको कसुरलाई अत्यन्तै गम्भीर मानेको छ । उच्च अदालतको फैसलापछि हानको कानुनी टोलीले अदालतले मुद्दाका मुख्य तथ्य र कानूनी सिद्धान्तहरूको गलत व्याख्या गरेको दाबी गर्दै तुरुन्तै सर्वोच्चमा पुनरावेदन गर्ने बताएको थियो । यता राज्यद्रोहको अनुसन्धान गरिरहेको स्वतन्त्र काउन्सिलले भने हानको भुमिका निकै गम्भीर रहेको भन्दै पुनरावेदनको सुनुवाइका क्रममा २३ वर्षकै जेल सजाय माग गरेको थियो ।
सन् २०२४ डिसेम्बर ३ को रात राष्ट्रपति युनले संकटकालीन सैनिक शासन घोषणा गरेका थिए, जसलाई केही घण्टापछि नै राष्ट्रिय सभाले खारेज गरिदिएको थियो । हानमाथि पुरानो मिति राखेर सैनिक शासनको घोषणापत्रमा हस्ताक्षर गरी त्यसलाई नष्ट गरेको तथा संवैधानिक अदालतमा चलेको महाभियोग सुनुवाइका क्रममा झूटो बयान दिएको समेत आरोप छ ।
हानलाई सन् २०२५ अगस्टमा हिरासत बाहिरै राखेर मुद्दा चलाइएको थियो। यद्यपि, गत जनवरीमा तल्लो अदालतले फैसला सुनाएलगत्तै उनलाई इजलासबाटै हिरासतमा लिइएको थियो ।

Leave a Reply

ताजा समाचार