काठमाडौं ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि)ले श्रमिक अधिकार, श्रमिकको सामाजिक सुरक्षाका लागि श्रम कानून संशोधन गरी प्रभावकारी कार्यान्वयन गर्न माग गरेको छ । मे दिवसको अवसरमा बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेटियुसिसिले श्रमिक हित संरक्षणका लागि विभिन्न नीतिगत प्रस्ताव सार्दै यस्तो माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै जेटियुसिसिका अध्यक्ष विनोद श्रेष्ठले सार्वजनिक क्षेत्रमा ट्रेड युनियन अधिकार पुनस्र्थापना गर्दै जीवनयापन लागतमा आधारित पारिश्रमिक निर्धारण गर्न प्रश्ताव गर्नुभयो । उहाँले श्रम अधिकारको रक्षाका लागि सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन पनि माग गर्नुभयो ।
बदलिँदो श्रम बजार, रोजगारीको अनौपचारिकीकरण, प्रविधि (एआई र स्वचालन) को प्रभाव, ज्यालाको स्थिरता, महँगी, आप्रवासी श्रमिकको शोषण र जलवायु परिवर्तनजस्ता चुनौतीले श्रमिक अधिकारमा थप दबाब सिर्जना गरेको भन्दै उहाँले सरकारको ध्यानाकर्षण समेत गराउनु भयो । उहाँले अबको श्रम आन्दोलन तलब वृद्धिमा मात्र सीमित नभई उत्पादनशीलता, दक्षता, डिजिटल रूपान्तरण, सर्वव्यापी सामाजिक सुरक्षा, नयाँ रोजगारी र राष्ट्रिय औद्योगिकीकरणतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले श्रमिक प्रतिनिधित्व सुनिश्चित गर्न राज्यका सबै संरचनामा १० प्रतिशत सहभागिता, संवैधानिक श्रम आयोग गठन, करार श्रमिकको सामाजिक सुरक्षा, अनौपचारिक क्षेत्रका श्रमिकका लागि सरकारी योगदान तथा सामाजिक सुरक्षा करको पारदर्शी व्यवस्थापन गर्न समेत माग गर्नुभयो । महिला श्रमिक सशक्तीकरणका लागि समान कामको समान पारिश्रमिक, दुरूत्साहन र उत्पीडन सम्बन्धी शुन्य नीति अख्तियार गर्न समेत उहाँको माग छ ।





