विश्व ।
पाकिस्तान, इजिप्ट, टर्की, इन्डोनेसिया, जोर्डन, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका विदेश मन्त्रीहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै इजरायलले हालै ३० भन्दा बढी नयाँ बस्तीहरूलाई दिएको स्वीकृतिको कडा शब्दमा निन्दा गरेका छन् । उनीहरूले यस कार्यलाई अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लंघन भनेका छन् ।
मन्त्रीहरूले प्यालेस्टिनी विद्यालय र बालबालिकाहरूमाथि बढ्दो सेटलर हिंसाको पनि निन्दा गरेका छन्। उनीहरूकाअनुसार, यस्ता क्रियाकलापले दुई–राज्य समाधान र शान्ति प्रयासहरूलाई कमजोर बनाएको छ । यसका साथै, उनीहरूले इजरायली पुलिसको सुरक्षामा सेटलरहरू र अतिवादी मन्त्रीहरूद्वारा अल–अक्सा मस्जिद परिसरमा पटक–पटक गरिएको घुसपैठको पनि निन्दा गरेका छन् । उनीहरूले पूर्वी जेरुसेलमलाई राजधानी बनाइ जुन ४, १९६७ को सिमानामा आधारित एक स्वतन्त्र प्यालेस्टिनी राज्यको समर्थन गर्ने प्रतिवद्धता दोहोर्याएका छन् ।




