एजेन्सी । पेन्टागनमा आयोजित एक पत्रकार सम्मेलनमा अमेरिकी जोइन्ट चीफ अफ स्टाफका अध्यक्ष ड्यान केनले चेतावनी दिनुभएको छ कि विश्वभर तैनाथ अमेरिकी सैनिकहरूले इरानी झण्डावाहक जहाज वा इरानलाई भौतिक सहयोग पुर्याउन खोज्ने कुनै पनि जहाजलाई सक्रिय रूपमा खोज्ने चेतावनी दिनुभएको छ ।
अमेरिकी नौसेनाले आगामी सोमवारदेखि इरानी बन्दरगाहहरूमा जाने वा त्यहाँबाट प्रस्थान गर्ने सबै जहाजहरूमाथि नाकाबन्दीको घोषणा गरेको छ । इस्लामावादमा भएको अमेरिका र इरानबीचको वार्तामा कुनै सम्झौता हुन नसकेपछि यो कडा कदम चालिएको हो ।
जनरल केनकाअनुसार यो नाकाबन्दी इरानको क्षेत्रीय समुन्द्र र अन्तर्राष्ट्रिय जल क्षेत्रमा लागू हुनेछ । सामुन्द्रिक सुरक्षा प्रवद्र्धनका लागि १० हजार भन्दा बढी अमेरिकी नाविकहरू, म्यारिन्स र वायुसेनाका कर्मचारीहरू परिचालन गरिएका छन्, जसलाई १२ ओटा युद्धपोत र दर्जनौं विमानहरूले सहयोग गरिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानसँगको अमेरिकी–इजरायली युद्ध अन्त्यको नजिक रहेको बताउनुभएको थियो ।
यद्यपि उहाँले अझै पनि कुनै स्पष्ट समयरेखा दिनुभएको छैन । हाल दुई हप्ताको युद्धविराम जारी छ जुन अर्को हप्ता समाप्त हुनेछ ।





