मूल्यवृद्धि नियन्त्रण र रासायनिक मल समयमा नै व्यवस्थापन गर्न सांसदहरुको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८३, शनिबार

मूल्यवृद्धि नियन्त्रण र रासायनिक मल समयमा नै व्यवस्थापन गर्न सांसदहरुको माग

काठमाडाैं । राष्ट्रिय सभाका सदस्यहरुले मूल्यवृद्धि नियन्त्रण र रासायनिक मल समयमा नै व्यवस्थापन गर्न सरकारको ध्यानकर्षण गराउनुभएको छ । राष्ट्रिय सभाको बुधवार बसेको बैठकको शून्य समयमा उहाँहरुले उपभोक्ताहरुको माग सम्बोधन गर्न सरकारको ध्यानार्कषण गराउनुभएको हो ।

राष्ट्रिय सभा सदस्य गीता देवकोटाले मध्यपूर्वमा देखिएको द्वन्द्वका कारण मुलुकमा बढ्दो मूल्यवृद्धिले आम जनताको जीवनयापन अत्यन्तै कष्टकर बन्दै गएको बताउनुभयो । उहाँले मूल्यवृद्धि नियत्रण गर्न सरकासंग माग गर्नुभयो । उहाँले किसानलाई प्रोत्साहन गर्ने स्पष्ट नीति अवलम्वन गर्न पनि सरकारसँग माग गर्नुभयो । नेपालमा तरकारी, खाद्यान्न, फलफूल, मह तथा माछामासु उत्पादन गर्ने किसानलाई दीर्घकालीन रूपमा व्यवसायिक बनाउन आवश्यक रहेको उहाँको भनाइ छ । आगामी बजेटमार्फत सरकारले अल्पकालीन तथा दीर्घकालीन ठोस कार्यक्रम ल्याई उत्पादन, भण्डारण, ढुवानी र बजार व्यवस्थापनलाई सुदृढ गर्नुपर्ने उहाले बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य रेखाकुमारी झाले प्रत्येक वर्षझैं यसवर्ष पनि रासायनिक मलको अभाव हुने जोखिम रहेको औंल्याउनुभयो । हाल अमेरिका, इजरायल र इरानबीचको युद्धले आपूर्ति थप प्रभावित हुन सक्ने उहाँको भनाई छ । सरकारले समयमै आवश्यक पर्ने मलको व्यवस्था गर्न गम्भीरता देखाउनुपर्ने उहाँको भनाई छ ।

उहाँले देशका विभिन्न क्षेत्रमा वन्यजन्तुले बाली नष्ट गर्दा किसानको जीविकोपार्जनमा ठूलो असर परेको उल्लेख गर्दै तत्काल समस्या समाधान गरी पीडित किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।

Leave a Reply

ताजा समाचार