काठमाडाैं । बिहीबार बस्ने प्रतिनिधि सभाको पहिलो बैठकमा सुशीला कार्की नेतृत्वको सरकारले जारी गरेका तीन अध्यादेश पेश गर्नेसहित संघीय संसद सचिवालयले सम्भावित कार्यसूची पहिचान गरेको छ । निर्वाचनपछि बस्न लागेको सभाको पहिलो बैठकका लागि सचिवालयले कार्यसूची पहिचान गरिसकेको संसद सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले बताउनुभएको हो ।
संसद सचिवालयले यीनै एजेण्डामाथि छलफल गर्न आज सर्वदलीय बैठक बोलाएको छ । संसदको अधिवेशन शुरु हुनुअघि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूको सहभागितामा सर्वदलीय बैठक आह्वान गरिएको हो । अधिवेशन आह्वान भइसकेपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएपनि हाल समिति नभएको अवस्थामा सर्वदलीय बैठक बोलाइएको हो ।
सर्वदलीय बैठकले अधिवेशनको सभाको पहिलो बैठक सञ्चालन, प्रारम्भिक एजेण्डा चयन तथा कार्यतालिका व्यवस्थापनका विषयमा सहमति जुटाउनेछ । सभाको पहिलो बैठकले संसद नियमावली समेत तय गर्नेगरी कार्यसूची तय गरिएको छ । संसदको पहिलो बैठकमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जारी गरेका तीन वटा अध्यादेश पेश गर्ने र संसदका प्रतिनिधित्व गर्ने दलका नेताहरुले सम्बोधन गर्नेसहितको कार्यसूची पहिचान भइसकेको छ ।
साथै सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया सुरु गर्ने विषय समेत प्राथमिकतामा रहने छ । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुखको निर्वाचन पहिलो बैठक बसेको १५ दिनभित्र गर्नुपर्ने हुन्छ ।
गिरीका अनुसार सभा सञ्चालनको लागि सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको बहुउद्देश्यीयमा सभा हेर्न आउने दर्शक, सञ्चारकर्मी लगायत लागि सहभागि गराउने अवस्था समेत छैन ।





