काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्वपालाई जनताले पाँच वर्षभन्दा बढी टिक्न नदिने टिप्पणी गर्नुभएको छ । पार्टीको ओखलढुङ्गा शाखाले काठमाडौंमा आयोजना गरेको निर्वाचन समीक्षात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले पार्टीभित्र एकता, संगठन सुदृढीकरण र सुशासनका लागि सामूहिक प्रयास अपरिहार्य रहेको पनि बताउनुभयो । उहाँले मुलुक निर्माण, भौतिक विकास तथा बेथिति र विकृतिविरुद्धको लडाईं सामूहिक प्रयासबाट मात्र सम्भव हुने उल्लेख गर्नुभयो । उहाँले पार्टीलाई संगठनात्मक रूपमा अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले रास्वपाका समर्थक, मतदाता र शुभेच्छुकलाई संगठन निर्माणमा सक्रिय भुमिका निर्वाह गर्न पनि आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको अब बन्ने सरकारप्रति नागरिकको उच्च अपेक्षा र चासो रहेको पनि बताउनुभयो ।
उहाँले रास्वपा सरकारले नागरिकको अपेक्षाअनुरुप काम गर्ने दाबी पनि गर्नुभयो ।





