पश्चिम एशियामा रहेका ८२ हजार नेपाली नागरिकले बुझाए विवरण | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८२, शनिबार

पश्चिम एशियामा रहेका ८२ हजार नेपाली नागरिकले बुझाए विवरण

काठमाडाैं । परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म पश्चिम एशियाबाट ८२ हजार एक सय जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएको जनाएको छ । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सो जानकारी दिनुभएको हो ।

उहाँका अनुसार अनलाइन दर्ता प्रणालीमा दर्ता भएकामध्ये करिव ६ हजार जनाले शुरुमा आफूहरू असुरक्षित रहेको जानकारी गराएका थिए । तर पछिल्ला दिनहरूमा असुरक्षित महशुस गर्नेहरूको संख्या उल्लेख्य रूपमा घटेको उहाँको दाबी छ । इजरायल, अमेरिका र इरानबीच बढ्दो तनावका बीच पश्चिम एशियाका विभिन्न देशहरुबाट मन्त्रालयको आपतकालीन कक्षमा हालसम्म ७८ वटा कलसहित कुल १ सय ७० पटक सम्पर्क भएको क्षेत्रीले उल्लेख गर्नुभयो ।

उहाँले अवस्था सामान्य बन्दै गएको कारण श्रम स्वीकृतिको विषयमा जानकारी लिन धेरैजसो सम्पर्क हुने गरेको जानकारी दिनुभयो । उहाँले मन्त्रालयले आफ्ना १० वटै नियोगहरूमार्फत समस्यामा परेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिने र आवश्यक समन्वय गर्ने कार्य भइरहेको समेत जानकारी दिनुभयो । ब्रिफिङका क्रममा प्रवक्ता क्षेत्रीले हाल कुनैपनि नेपाली नागरिक विदेशका ट्रान्जिटमा नरहेको जानकारी दिनुभयो । जेद्दामा रहेका ५२ जना हजयात्रीहरू समेत स्वदेश फर्किसकेको उहाँको भनाइ छ ।

उहाँले पश्चिम एशियामा रहेका नेपाली नागरिकको सुरक्षामा सरकार गम्भीर रहेको भन्दै आवश्यक परेको खण्डमा उद्धारको लागि समेत तयार रहेको जानकारी दिनुभयो ।

Leave a Reply