काठमाडाैं । होटल एशोसिएशन नेपाल (हान) का अध्यक्ष विनायक शाहले मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रलाई मुख्य आधार बनाउनुपर्नेमा जोड दिनुभएको छ । पर्यटन क्षेत्रले देशको आर्थिक गतिविधिमा ठूलो योगदान दिन सक्ने भएपनि अहिले स्पष्ट मार्गचित्र नभएको उहाँँले बताउनुभयो ।
अध्यक्ष शाहले आगामी ५ वर्षका लागि बन्न लागेको सरकारले एउटा ठोस योजना ल्याउनुपर्ने र सोही आधारमा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताउनुभयो । शाहले आगामी ५ वर्षभित्र ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहितको योजना बनाउन सरकारलाई सुझाव दिनुभएको छ । उक्त लक्ष्य प्राप्तिका लागि आवश्यक नीति, ऐन र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।
पर्यटक आकर्षणका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको शाहले बताउनुभयो । उहाँका अनुसार निजी क्षेत्र अहिले पनि प्रवद्र्धनका कार्यमा सक्रिय रहेको छ । सरकारले निजी क्षेत्रको भुमिका र कार्यका बारेमा स्पष्ट नीति ल्याएमा निजी क्षेत्र थप ऊर्जाका साथ काम गर्न तयार रहेको उहाँको भनाइ छ । दुई तिहाइ बहुमत नजिकको सरकार बन्न लागेकोमा पर्यटन क्षेत्र उत्साहित रहेको समेत उहाँको भनाइ छ ।





