‘एमाले गरिब र मजदुरको पक्षमा छ’: अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

‘एमाले गरिब र मजदुरको पक्षमा छ’: अध्यक्ष ओली

काठमाडाैं  । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सधैँ गरिब, विपन्न र मजदुर वर्गको हितमा उभिएको दाबी गर्नुभएको छ ।  झापाको दमकमा आयोजित सिटी रिक्सा चालकहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालमा भोकमरीको स्थिति लगभग अन्त्य भएको र अबको लक्ष्य पूर्ण रूपमा गरिबी निवारण रहेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको मुख्य प्राथमिकतामा विपन्न, सुकुम्वासी र सानो व्यवसाय गर्ने मजदुरहरू रहेको उल्लेख गर्नुभयो । उहाँले ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने सरकारी नीतिकै कारण देशमा भोकमरीको अन्त्य भएको दाबी गर्नुभयो । गरिबी अझै पनि चुनौतीको रूपमा रहेको स्वीकार गर्दै उहाँले विभिन्न उपाय र कार्यक्रमहरूमार्फत यसलाई जरैदेखि उखेल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा शुरु गरिएका स्वास्थ्य बीमा जस्ता सामाजिक सुरक्षाका कार्यक्रमहरूको महत्वमाथि प्रकाश पार्नुभयो । ३५ सय रुपैयाँमा १ लाखसम्मको उपचार पाउने व्यवस्था जनताकै करबाट सम्भव भएको बताउँदै उहाँले सरकारले जनताबाटै स्रोत संकलन गरेर जनताकै हितमा खर्च गर्ने स्पष्ट पार्नुभयो । उहाँले विकासको अनुभुति गर्ने र गराउने काममा एमाले नेतृत्वको सरकार सफल भएको जिकिर समेत गर्नुभयो ।

आसन्न निर्वाचनप्रति लक्षित गर्दै उहाँले मजदुरका समस्या समाधानका लागि निर्वाचन पछि थप ठोस कदम चालिने बताउनुभयो । सिटी रिक्सा चालकहरूका समस्या आफूसम्म आइपुगेको र त्यसलाई लिपिवद्ध गरेर दिन आग्रह गर्दै ओलीले निर्वाचनको नतिजा लगत्तै ती समस्याहरूको समाधान खोजिने आश्वासन दिनुभयो । उहाँले एमालेको चुनावी चिह्न ‘सूर्य’ मा मतदान गरेर एमालेलाई जिताउन आग्रह समेत गर्नुभयो ।

Leave a Reply