मतपत्र छपाइकाे काम अन्तिम चरणमा : जनक शिक्षा सामग्री केन्द्र | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

मतपत्र छपाइकाे काम अन्तिम चरणमा : जनक शिक्षा सामग्री केन्द्र

काठमाडौं। आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । अहिलेकै गतिमा मतपत्र छपाइ निरन्तर रहेमा आइतबार साँझसम्ममा मतपत्र छपाइ सकिने मतपत्र छापिरहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ ।

केन्द्रका अनुसार अब करिब १२ लाख थान मात्र मतपत्र छाप्न बाँकी छ । केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार शनिबार साँझसम्ममा एक करोड ९० लाख थान मतपत्र छपाइ सम्पन्न भएको छ । आयोगले प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख थान मतपत्र छाप्नुपर्ने हुन्छ । छापिएका मतपत्र ६६ जिल्लाका लागि हुन् ।

काठमाडौँ उपत्यकावरपरका जिल्लाको मात्र मतपत्र छपाइ बाँकी रहेको छ । प्रबन्ध सञ्चालक पौडेलका अनुसार शुक्रबार साँझसम्म करिब १९ लाख मतपत्र मात्रै छाप्न बाँकी रहेको थियो । शनिबार पनि छपाइ भयो । हरेक दिन १० देखि १२ लाखसम्म मतपत्र छाप्न सक्ने क्षमता जनक शिक्षाको छापाखानासँग छ ।

सुदूरपश्चिम प्रदेशका निर्वाचन क्षेत्रका मतपत्र ढुवानीका लागि ट्रकमा लोड भइरहेको छ । जनक शिक्षाले सुरुमा गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरेको थियो । समानुपातिक निर्वाचन प्रणालीको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ । ढुवानी भएका जिल्लामा समानुपातिक र प्रत्यक्ष दुवैथरी मतपत्र एकैसाथ लगिएको छ ।

नेपाली सेनाको सुरक्षामा मतपत्र सम्बन्धित जिल्लामा पठाइएको हो । सेनाले सम्बन्धित जिल्लामा पठाएर जिल्ला सुरक्षा समितिलाई जिम्मा लगाउने छ र आवश्यकता अनुसार त्यसको सुरक्षा पनि सेनाले नै दिने छ ।

Leave a Reply