‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ को एघारौं संस्करण माघ २२ गते हुने | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ को एघारौं संस्करण माघ २२ गते हुने

काठमाडाैं । निर्माण तथा भवन सामग्री क्षेत्रको नेपालको सबैभन्दा ठूलो प्रदर्शनी ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ को एघारौं संस्करण यस पटक स्वदेशी कम्पनीहरुको बढी सहभागितासहित आयोजना हुँदैछ । मिडिया स्पेश सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईकाअनुसार एक्स्पो माघ २२ गतेदेखि २५ गतेसम्म भृकुटीमण्डपमा हुन लागेको हो ।

मिडिया स्पेश सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रा.लि.को आयोजनामा हुन लागेको यस संस्करणको मुख्य विशेषता भनेको स्वदेशी तथा विदेशी कम्पनीहरुको सहभागितामा आएको उल्टो अनुपात हो । विगतका वर्षहरुमा विदेशी कम्पनीहरु बढी रहने गरेकोमा यस पटक नेपाली कम्पनीहरुको सहभागिता ६० प्रतिशत पुगेको छ भने विदेशीहरु ४० प्रतिशत मात्र रहेको उहाँले बताउनुभयो ।  प्रदर्शनीले नेपालको निर्माण उद्योगलाई अपडेट गर्न तथा भिजिटरहरुलाई नयाँ जानकारी दिने लक्ष्य राखेको उहाँले बताउनुभयो । यसका लागि विभिन्न आकर्षक कार्यक्रमहरु पनि राखिएको छ । जसमध्ये भ्लगिङ कम्पिटिसन प्रमुख छ ।

नेपालका कन्टेन्ट क्रिएटर तथा भ्लगरहरुले प्रदर्शनी अवधिभर भ्लग तथा भिडियो बनाएर पोस्ट गरेमा उत्कृष्टलाई नगद पुरस्कार दिइने छ । पहिलो पुरस्कार ५० हजार, दोस्रो ३० हजार र तेस्रो २० हजार रुपैयाँ रहेको छ । यसको विस्तृत जानकारी आयोजकको फेसबुक पेजमा उपलब्ध रहेको भट्टराईले बताउनुभयो । प्रदर्शनी माघ २२ देखि २५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ । प्रवेश निःशुल्क रहेको उहाँले जानकारी दिनुभयो । यो प्रदर्शनी निर्माण, आर्किटेक्चर, इन्टेरियर डिजाइन, भवन सामग्री, मेसिनरी तथा नवीन प्रविधिका लागि महत्वपूर्ण प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ।

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीले नेपालको निर्माण उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । प्रदर्शनीमार्फत स्वदेशमै उत्पादन भएका निर्माण सामग्री तथा प्रविधिलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने साथै अन्तर्राष्ट्रिय बजारमा चलेका नवि प्रविधि, सेवा तथा वस्तु नेपालमा भित्र्याउने अवसरसमेत प्रदान हुँदै आएको छ । प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, अल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टायल्स, स्यानिटरी वेयर, मोड्युलर तथा आधुनिक किचन, रुफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, एस्केलेटर, ढोका, झ्याल, फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप, प्लम्बिङ, फिटिङ्स, कन्सट्रक्सन केमिकल, पीभीसी र यूपीभीसी प्रोफाइल, ब्याट्री, जेनेरेटर र सिमेन्ट तथा स्टिललगायत निर्माणका सम्पूर्ण सामग्री तथा सेवा पाउन सकिन्छ ।

निर्माण क्षेत्रमा आवद्ध व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक, सेवाप्रदायकजस्ता सम्पूर्ण पक्ष समेटिएको प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कम्पनी, व्यवसायी, उत्पादक, वितरक, डिजाइनर, इन्जिनियर, आर्किटेक्ट एवं निर्माणसँग सम्बन्धित पेशामा आवद्ध व्यक्तिका साथै निजी आवास, व्यापारिक कम्प्लेक्स, व्यावसायिक भवन निर्माण गर्न चाहने व्यक्ति तथा संघ–संस्थाका र सर्वसाधारणको पनि उपस्थिति रहनेछ ।

Leave a Reply