काठमाडाैं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगन र विशेष महाधिवेशन घोषणा गरेपछि नेपाली नेपाली कांग्रेसमा खैलाबैला मच्चिएको छ । महामन्त्रीहरूले संयुक्त वक्तव्य जारी गरी अब विशेष महाधिवेशनतर्फ अघि बढ्न आह्वान गरेलगत्तै सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग छलफल गर्नुभएको छ । खड्का र लेखकलाई बोलाएर देउवाले विशेष महाधिवेशन कुनै हालतमा गर्न हुँदैन, पार्टी फुट्छ भनेको बताइएको छ ।
यसैबीच, आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे कांग्रेस केन्द्रीय कार्यायलय (ललितपुर) मा बस्ने भनिएको छ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति तोकेपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको हो ।
पार्टी महामन्त्रीद्वयले यही पुस २७ र २८ गते दुई दिन काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरेका छन् । भृकुटीमण्डपको हल समेत बुकिङ गरिसकिएको नेताहरुले बताएका छन् ।
यसअघि कांग्रेस केन्द्रीय समितिले पुस २६ गतेदेखि १५ औं महाधिवेशन गर्ने गरी नियमित महाधिवेशनको कार्यतालिका तय गरेको थियो । त्यसअनुसार वडा र पालिका अधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशन बोलाउनु भएको हो ।





