काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीतिमा अब युवाहरुको दबदबा कायम हुने दाबी गर्नुभएको छ । शुक्रबार राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले राजनीतिमा युवाहरुको उपस्थितिलाई कसैले रोकेर नरोकिने बताउनुभयो । उहाँले राजनीतिलाई नीतिहरुको राजा मान्ने हो भने समावेशिता, ३३ प्रतिशत महिला प्रतिनिधित्व कायम र युवाहरुको उपस्थिति अनिवार्य रहेको बताउनुभयो । राजनीतिक दलहरुलाई युवाहरुलाई राजनीतिक नेतृत्वमा ल्याउनका लागि तयार नभइ सुख नरहेको जिकिर गर्नुभयो ।
उहाँले घाटमा जाने बेलासम्म पनि आफै नेता बन्ने, आफै प्रमुख बन्ने, आफै प्रधानमन्त्री बन्ने, आफै अध्यक्ष बन्ने गरेको टिप्पणी गर्नुभयो ।
मन्त्री खरेलले नेपालको वर्तमान स्थितिले युवा राजनीति र नेतृत्वमा जाज्वल्यमान उज्यालो ल्याउने बताउनुभयो ।





