काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारको मुख्य प्राथमिकता सुशासन, भ्रष्टाचार नियन्त्रण र निर्वाचन रहेको बताउनुभएको छ ।
संखुवासभा–काठमाडौँ पत्रकार समाजले आयोजना गरेको मनराम–एसकाज पत्रकारिता पुरस्कार–२०८२ वितरण समारोहमा मन्त्री खरेलले जनताले अनुभूति गर्ने गरी सुशासन प्रवर्द्धनलाई प्राथमिकता दिइने बताउनुभयो ।
सञ्चारमन्त्री खरेलले घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सरकारले सबैखाले तयारी गरेर निर्वाचनको माहोल बनाएको तथा राजनीतिक दलहरुले पनि निर्वाचनको माहोल बनाइरहेको उल्लेख गर्नुभयो ।
सञ्चारमन्त्री खरेलले पत्रकारिता क्षेत्रको योगदान तथा संखुवासभा पत्रकार समाजको सक्रिय पहलको प्रसंशा समेत गर्नुभयो । उहाँले जिम्मेवारीपूर्ण, तथ्यपरक र समाजमुखी पत्रकारिताले देशको समग्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।





