आर्थिक क्षेत्र चलायमान नहुँदा पूँजी पलायनको जोखिम | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

आर्थिक क्षेत्र चलायमान नहुँदा पूँजी पलायनको जोखिम

आर्थिक तरलता प्रशस्त भए पनि कर्जा माग ठप्प भएका कारण बैंकहरू मुद्दती निक्षेप संकलनमा अकर्षित छैनन् । जीडीपीभन्दा बढी निक्षेप हुँदा पनि कर्जा प्रवाह न्यून रहनु अर्थतन्त्रको कमजोरीको संकेत हो । लगानीमैत्री वातावरण नहुँदा निजी क्षेत्र जोखिम लिन डराइ रहेका छन् जसले पूँजी पलायनको जोखिम बढाएको छ ।

-माेहनप्रसाद मैनाली

देशको वित्तीय प्रणाली विरोधाभासको अवस्थाबाट गुज्रिरहेको छ । आर्थिक तरलता प्रशस्त छ, तर कर्जा माग ठप्प भएको छ । बैंक तथा वित्तीय संस्थामा ७५ खर्ब १४ अर्ब रुपैयाँ बराबरको निक्षेप थुप्रिएको छ, जुन देशको कुल गार्हस्थ उत्पादनभन्दा १५ खर्ब बढी हो । तर त्यही समयमा कर्जा प्रवाह ५६ खर्ब ३५ अर्बमा मात्र सीमित छ । कर्जा माग कमजोर बनेपछि बैंकहरू मुद्दती निक्षेप नलिने रणनीतिमा लागेका छन्, जसले बचतकर्ताको उत्साह घटेको छ र पूँजी पलायनको जोखिम समेत बढाएको छ ।

तरलता बढ्दो तर प्रयोग हुन नसकिरहेको अवस्थाले ब्याजदर पनि न्यून बनाएको छ । बैंकहरूको कर्जा–निक्षेप अनुपात ७४ प्रतिशतमा झरेको छ, ९० प्रतिशतसम्म लगानी गर्न सक्षम बैंक तथा बित्तीय संस्थाहरु ७४ प्रतिशतमा खुम्चिनु समग्र देशको आर्थिक अवस्था नकारात्मक हो । यस्तो अवस्थामा सात खर्ब ८० अर्ब रुपैयाँ स्थायी निक्षेप सुविधा र अन्य उपकरणमार्फत् केन्द्रीय बैंकमै थुप्रिएको छ । करिब ११ खर्ब बराबरको कर्जा लगानीयोग्य रकम पनि चलायमान हुन सकेको छैन । तरलता थुप्रिँदै गइरहँदा यसको असन्तुलित प्रभावले आर्थिक प्रणालीमा विकृति बढ्ने चिन्ता बढ्नु स्वभाविकै हो ।

यस्तो अवस्थाबाट बाहिर निस्किन सरकार, निजी क्षेत्र र नियामक निकायले आ–आफ्नो भूमिकालाई प्रभावकारी ढंगले अघि बढाउनुपर्छ । सरकारले लगानीमैत्री वातावरण निर्माणतर्फ ठोस कदम चाल्नुपर्छ । अहिले निजी क्षेत्र लगानी विस्तार गर्न साहस देखाइरहेको देखिदैन । राजनीतिक अनिश्चितता, नीतिगत अस्थिरता, कर तथा अनुमति प्रक्रियामा अव्यवस्थाका कारण लगानीमैत्री वातावरण बन्न सकेको छैन । सरकारको प्राथमिकता दीर्घकालीन नीतिगत स्थिरता दिने, लगानीका नियमहरू सरल बनाउने र पूर्वाधार विस्तारका ठूला आयोजना छिटो गतिमा अघि बढाउनेतर्फ जानुपर्छ । ऊर्जा, यातायात, सिँचाइ, शहरी विकासजस्ता ठूला क्षेत्रमा कर्जा लिन सक्ने क्षमता उच्च छ, यी परियोजनालाई सार्वजनिक–निजी साझेदारीका माध्यमबाट द्रुत गतिमा अघि बढाउन सके कर्जा मागमा प्राकृतिक रूपमा वृद्धि हुनसक्छ । व्यवसाय गर्न सजिलो वातावरण निर्माण तथा भ्रष्टाचार नियन्त्रण गर्न सके निजी क्षेत्रलाई थप सक्रिय बनाउन सकिन्छ ।

तर समाधान सरकारमा मात्रै सीमित छैन । निजी क्षेत्रले पनि अत्यधिक जोखिम टार्ने मनसायबाट बाहिर निस्कनुपर्छ । अहिले बैंकिङ प्रणालीमा उपलब्ध सस्तो स्रोतलाई अवसरका रूपमा उपयोग गर्ने हो भने उत्पादन र निर्यातमुखी उद्योग, कृषि प्रशोधन, पर्यटन, स्वास्थ्य, सूचना प्रविधि, डिजिटल सेवा जस्ता क्षेत्रमा नयाँ लगानीको विशाल सम्भावना छ । हरेक अनिश्चितताको नाममा लगानी पूर्ण रूपमा रोकिरहनु दीर्घकालीन रूपमा निजी क्षेत्रकै लागि घातक बन्न सक्छ । समयको मागसँगै जोखिम व्यवस्थापनसहित विवेकपूर्ण तर अग्रगामी लगानी रणनीति तत्काल अगाडि बढाउनुपर्छ ।

स्टार्ट अप, साना उद्योग, कृषि, निर्यात व्यवसाय जस्ता क्षेत्रका लागि छुट्टै र लचिलो कर्जा दिशानिर्देशन, तरलता व्यवस्थापनका औजारहरूमा लचकता र ब्याजदरमा अनावश्यक उतार–चढाव रोक्ने नीति केन्द्रीय बैंकले लिन आवश्यक छ ।

सबैभन्दा संवेदनशील पक्ष पूँजी पलायनको जोखिम हो । कर्जा माग नबढ्ने, बचतकर्ताले न्यून ब्याजदर पाउने, र बैंकहरूको स्रोत थन्किरहने स्थिति लामो समय रहिरह्यो भने पूँजी बाहिरिने सम्भावना स्वभाविक रूपमा बढ्छ । यस्तो जोखिमलाई रोक्न बचतकर्ताको विश्वास जोगाउने नीतिहरू, पूँजी बजारको आधुनिकीकरण र डिजिटल वित्तीय संरचनाको सुधार आवश्यक छ ।

Leave a Reply