काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचन व्यवस्थित ढंगले सम्पन्न गर्नका लागि आवश्यक कदम चाल्न सरकारसँग आग्रह गर्नुभएको छ । सिंहदरवारमा बसेको राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा बोल्दै उहाँले शान्ति सुरक्षासहित सबै पक्षलाई निर्वाचनमा सहज ढंगले सहभागिता हुनेगरी आवश्यक वातावरण बनाउन सरकारसँग अनुरोध गर्नुभएको हो ।
अध्यक्ष दाहालले राष्ट्रिय सभा सञ्चालनका लागि केही कानूनी जटिलता र अस्पष्टता रहेको उल्लेख गर्दै त्यसलाई हटाउने विषयमा पनि सरकारले ढिलाई नगर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय सभा बैठक सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई पनि सरकारले गम्भीरतापूर्वक लिनुपर्ने जरुरी रहेको बताउनुभयो ।
अध्यक्ष दाहालले राष्ट्रिय सभाले सरकारलाई महत्वपूर्ण सहयोग गर्ने भएकाले त्यसको बैठक सञ्चालन गर्ने काममा सरकारले सक्रियतापूर्वक लाग्नुपर्ने समेत बताउनुभयो ।





