-डा. अबुल हुसेन अन्सारी
दर्जनौं सपनाको उडान भरेर २०२३ मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको फ्याकल्टी अफ एग्रिकल्चरमा अध्ययनरत विपिन जोशीलगायत विद्यार्थीहरू इजरायल पुगे । उनीहरूमा त्यहाँको कृषि ज्ञान हासिल गरेर नेपालमा कृषि क्रान्ति गर्ने सपना थियो । भन्न त हामीले नेपाललाई कृषि, बनजंगल र जलको समृद्ध देश भन्छौं । तर, त्यो समृद्धि हामीले हासिल गर्न सकेका छैनौं । नेपालको ६४ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहे पनि उनीहरूको उत्पादन आफैलाई पुग्न सकेको छैन । राज्यको कृषि प्रधान नीति नहुनु, कमजोर सिँचाइ नीति, आधुनिक प्रविधि र अनुसन्धानको अभाव, बीउ, मल, कीटनाशक र माटो परीक्षणमा वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन नदिनु जस्ता कारणले नेपालमा कृषि क्षेत्रको विकास हुन नसकेको हो । किसानलाई प्रविधि प्रयोगका लागि तालिम र अनुदान उपलब्ध नगराउनु, कृषि ऋण र बीमा नीति प्रभावकारी रुपमा कार्यान्वयन नगर्नु, बजार पहुँच र मूल्य स्थिरताको सुनिश्चिता नगर्नु, वास्तविक किसानको पहिचान गर्न नसक्नु र अनुदानको रकम शक्तिको भरमा अपचलन हुनु, कृषिमा सहकारी र निजी क्षेत्रको सहभागिता गराउन नसक्नु, पूर्वाधार विकास गर्न नसक्नु जस्ता कारणले पनि नेपालको कृषि क्षेत्र उभो लाग्न सकेको छैन ।
यस्तो निराशाबीच देशमा कृषि क्रान्तिको सपना बोकेर इजरायल पुगेका नेपाली युवाको आसा ७ अक्टोबर २०२३ मा भएको हमास आक्रमणमा परी लाशमा परिणत भएर बाकसमा फर्कियो । तत्कालीन समयमा हमास आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए । ज्यान गुमाउनेमा कैलालीका नारायणप्रसाद न्यौपाने, बझाङका गणेश कुमार नेपाली, दार्चुलाका दिपेश राज विष्ट, धनुषाका आनन्द साह र मेरो गृह जिल्ला सुनसरीस्थित मेरै गाउँ बराहक्षेत्र नगरपालिका-११ मधुवनका राजेश कुमार स्वर्णकार रहेका छन् । यस्तै डोटीका राजन फुलारा, डोटीकै पदम थापा, सल्यानका प्रवेश भट्टराई, दार्चुलाका लोकेशसिंह धामी, कैलालीका आशिष चौधरीले पनि सोही आक्रमणमा प्राण त्यागे । तर, विपिनको अवस्था अज्ञात थियो । गाजामा भएको हमलापछि हमास लडाकुहरूले विपिनलाई आफूसँगै लिएर गएका थिए । सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिए पनि त्यसपछि उनको अवस्था अज्ञात थियो ।
यस्तो सकसपूर्ण अवस्थामा म शुरूदेखि नै विपिनको रिहाइका लागि प्रयत्नरत थिए । तत्कालिन नेपालस्थित इजरायलका लागि राजदूत र वर्तमान राजदूत शमुलिक अरिए बाससँग नियमित सम्वाद र सम्पर्कमा थिए । इजरायलमा हमास आक्रमण हुँदा नेपालमा एनपी साउँद परराष्ट्र मन्त्री हुनुहुन्थ्यो । उहाँ म आवद्ध पार्टी नेपाली कांग्रेसकै नेता हो । उहाँसँगको समन्वयमा पनि हामीले विपिनको रिहाइका लागि काम गरिरहेका थियौं । सात दिनभित्र त्यहाँ रहेका विद्यार्थीलाई नेपाल फिर्ता ल्याउन सरकारले २०२३ अक्टोबर १२ मा जहाज पठाएको थियो । २०२३ अक्टोबर १२ मा परराष्ट्रमन्त्री साउँदसहित उद्धार गरेका विद्यार्थी सवार जहाज बिहान ३ बजे काठमाडौं अवतरण गर्यो । त्यसक्रममा तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराती पनि विद्यार्थीको स्वागतार्थ विमानस्थल पुग्नु भएको थियो । विमान २६५ विद्यार्थी र केही नेपाली नागरिक गरी २७० जना ल्याएर राति ३ बजे विमानस्थल अवतरण गरेको थियो । त्यसको २० दिनपछि हमास आक्रमणमा ज्यान गुमाउने १० विद्यार्थीको शव नेपाल ल्याइएको थियो । त्यस जहाजमा आउनु भएका नेपाली विद्यार्थीहरूले विपिन जीवितै हुन सक्ने र हमास नियन्त्रणमा रहनु भएको बताउनु भयो । त्यही दिनबाट हामीले विपिनको खोजीका लागि पहल थालेका थियो । तर, दुई वर्षसम्मको नेपाल सरकार र हाम्रो प्रयास व्यर्थ बन्न पुग्यो । हामीले उहाँको जीवित अनुहार देख्न सकेनौं ।
यसमा नेपालको कुटनीतिक पहल पनि कमजोर रह्यो । नेपालले इजरायलसँग नभएर प्यालेस्टाइन र हमाससँग संवाद गर्नुपर्थ्यो । तर, नेपालले उनीहरूको वास्ता नगरेको जस्तो देखिन्छ । नेपालले इजरायल पक्षलाई मात्र समातेको देखियो । एक वर्षसम्म प्रयास गर्दा पनि हाम्रो प्रयास सफल नभएपछि मैलेले दुवैका राजदूत हानान गोडर-गोल्डबर्गरसँग कुरा गरेँ । उहाँले अब कुरा अगाडि बढाउँदा जोर्डन्, कतार, इजिप्टसँग संवाद गर्न भन्नु भयो । त्यसपछि उहाँको सल्लाहलाई हामीले अंगिकार गर्यौं । र, विपिनको आमासँगै बहिनीलाई इजरायल पठाउन सफल भयौं । उहाँहरूले इजरायलका राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ व्यक्तिहरूसँग भेट्नुभयो । त्यहाँ आफ्नो कुरा राख्नु भयो । नेपाल आइसकेपछि मैले नै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासँग भेट गराए । त्यसपछि परराष्ट्रमन्त्रालयको आग्रहमा जोर्डन, इजिप्ट र कतारका राष्ट्र प्रमुखहरूलाई राष्ट्रपति कार्यालयबाट विपिनको अवस्था पत्ता लगाउन आग्रह गर्दै पत्र लेखियो । त्यसका लागि राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलको सहयोग पनि ठूलो रहेको थियो ।
म विपिनको परिवारसँग जहिल्यै निकटतम संवादमा थिए । आफ्ना लागि त जो सुकै बाच्ने गर्छन् । तर, समाजको चिन्ता लिनु मानवीय धर्म हो भन्ने मेरो बुझाइ छ । त्यसैले मैले सुरुकै दिनबाट विपिनको खोजीका लागि काम गरिरहेको थिए । शव ल्याइसकेपछि पनि विपिनको आमाले मलाई धन्यवाद दिँदै भन्नु भयो, ‘बाबु अबुल तिमी नभइदिएको भए मेरो छोराको शव पनि नेपाल ल्याउन सकस हुन्थ्यो ।’ उहाँको त्यो शब्द म जीवनमा सायदै भुलौंला ।
अहिले पनि विपिनको मृत्युबारे विभिन्न अभिव्यक्ति आइरहेका छन् । उहाँको शवको प्रकृति हेर्दा र हमास अधिकारिले दिएको जानकारी अनुसार विपिनको निधन दुई वर्षअघि नै भइसकेको थियो । घाइते अवस्थामा बन्धक बनाइएकै समयमा उहाँको ज्यान गएकाे भए पनि शवको पहिचान हुन नसकेनपछि बाहिर विभिन्न भ्रामक खबर आएको मेरो बुझाइ छ । ती खबरले र हमासको नियन्त्रणमा रहेका केही व्यक्ति जीवितै रहेकाले विपिन पनि सकूसल हुन सक्ने हाम्रो अपेक्षा थियो । इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएकाे भनिएकाे छ ।





