एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबिच दक्षिण कोरियाको बुसानमा भएको ऐतिहासिक भेटलाई विश्वभरका पर्यवेक्षकहरूले दुई ठुला अर्थतन्त्रबीचको अस्थिर सम्बन्धमा नयाँ मोड आउने सङ्केतका रूपमा व्याख्या गरेका छन्।
६ वर्षपछि पहिलोपटक आमनेसामने भएका दुबै नेताले बुसानस्थित गिम्हे वायुसेनास्थलमा एकअर्कासँग आत्मीयताको साथ हात मिलाए।
अन्तर्राष्ट्रिय शिखर सम्मेलन नजिकै भइरहेको बेला भएको यस भेटमा दुबै नेताले पारस्परिक सहयोग र दीर्घकालीन सम्बन्धका पक्षमा सकारात्मक वक्तव्य दिएका थिए।
ट्रम्पले सीलाई ‘महान देशका महान नेता’ भनेर सम्बोधन गर्दै भन्नुभयो, “हाम्रो सम्बन्ध लामो समयसम्म शानदार रहने छ भन्ने विश्वास छ।”
चिनियाँ नेता सीले पनि ट्रम्पलाई पुनः भेट्न पाएकोमा ‘ठुलो खुसी’ लागेको बताउँदै भन्नुभयो, “विश्वका दुई ठुला अर्थतन्त्रबीच कहिलेकहीँ मतभेद हुनु स्वाभाविक हो, तर हामी दुवै देशका नेतृत्वकर्ताका रूपमा सम्बन्धलाई सही दिशामा अगाडि बढाउनुपर्छ। चीन र अमेरिका दुवैले सँगसँगै समृद्ध हुन सक्छन्।”
तर, आत्मीयता र हात मिलाउने दृश्यबीच पनि ट्रम्पले बुसानमा अवतरण गर्नुअघि नै ठुलो घोषणाबाट विश्वलाई चकित पार्नु भएको छ ।
उहाँले ३० वर्षभन्दा बढी समयदेखि कायम अमेरिकी आणविक परीक्षण रोक नीति अन्त्य भएको घोषणा गर्दै भन्नुभयो, “अमेरिकासँग विश्वकै सबैभन्दा धेरै आणविक हतियार छन्। रुस दोस्रो स्थानमा छ भने चीन धेरै टाढा तेस्रो स्थानमा छ, तर पाँच वर्षभित्र चीन पनि नजिक आउने छ।”
उहाँका अनुसार अन्य देशका परीक्षण कार्यक्रमका कारण अमेरिकाले पनि अब आफ्ना हतियार परीक्षण सुरु गर्ने छ।
करिब एक घण्टा ४० मिनेट लामो वार्तापछि दुबै नेता पुनः देखा परे र हात मिलाउँदै वार्ता सम्पन्न भएको जनाइयो। ट्रम्प त्यसपछि मिडियासँग कुरा नगरी एयर फोर्स वनमार्फत अमेरिका फर्किनु भएको छ ।
गत हप्ताको अन्त्यमा मलेसियाको क्वालालम्पुरमा भएका अमेरिकी–चिनियाँ वार्ताकारबीचको बैठकपछि दुबै पक्ष ट्रम्प र सीबीच केही सहमतिमा पुग्ने अपेक्षामा देखिएका थिए। यस वार्ताबाट ठोस परिणाम निस्किएमा विश्वका दुई प्रमुख शक्तिबीचको तनाव केही हदसम्म कम हुने विश्लेषकहरूको विश्वास छ।
चीनका लागि यो बैठक अमेरिकासँगको सम्बन्धमा स्थायित्व ल्याउने अवसर हो भने ट्रम्पका लागि एशियाली भ्रमणको ‘सफल कूटनीतिक उपसंहार’ सावित भएको छ।





