जेन-जीलाई राष्ट्रिय सभामा प्रतिनिधित्व गराउने विषयमा चासो | ईमाउण्टेन समाचार

Our Network

असोज २७ २०८३, बुधवार

जेन-जीलाई राष्ट्रिय सभामा प्रतिनिधित्व गराउने विषयमा चासो

काठमाडाै‌‌ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभामा जेन-जीको प्रतिनिधित्व गराउने विषयमा चासो राख्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँगको भेटमा सो चासो राख्नुभएको हो ।

प्रधानमन्त्री कार्कीसँग राष्ट्रिय सभामा जेन-जीहरुको विषयमा पनि छलफल भएको राष्ट्रिय सभाका अध्यक्ष दाहालले बताउनुभयो । राष्ट्रिय सभामा आगामी फागुन २१ गतेबाट १८ जना सदस्यहरुको पदावधि सकिँदैछ । रिक्त पदमा निर्वाचन गराउने विषयमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसँग परामर्श गर्नुभएको थियो । त्यस सन्दर्भमा जल्दोबल्दो शक्तिको रुपमा उदाएको जेन—जीलाई पनि समावेश गर्ने विषयमा प्रधानमन्त्रीले चासो राख्नुभएको थियो ।

अध्यक्ष दाहालले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्वाचन आयोगको कार्यतालिकामा प्रधानमन्त्री कार्की सहमत रहनुभएको पनि बताउनुभयो । अध्यक्ष दाहालकाअनुसार राष्ट्रिय सभाको निर्वाचन समयमै गराउने विषयमा प्रधानमन्त्री कार्की सकारात्मक रहनुभएको छ ।

त्यसैगरी प्रधानमन्त्री कार्की राष्ट्रिय सभालाई छठ पछि सञ्चालन गर्ने विषयमा सकारात्मक रहनुभएको अध्यक्ष दाहालले बताउनुभयो । सिंहदरबारस्थित संसद सचिवालयको कृषि समितिको हललाई राष्ट्रिय सभाको बैठक कक्ष बनाउन सकिने प्रश्ताव आफूले राखेको पनि अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

छठपछि सक्रिय बनाउनका लागि त्यसको तयारी गराउने कामलाई अघि बढाउन पनि मुख्य सचिवलाई प्रधानमन्त्री कार्कीले निर्देशन दिने काम गर्नुभएको बताउनु भयो ।

अध्यक्ष दाहालले राष्ट्रिय सभाको तर्फबाट संवैधानिक प्रक्रियाभित्र रहेर सरकारले चाहेको कानूनी प्रक्रियामा सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको थियो ।

अध्यक्ष दाहालले प्रधानमन्त्री कार्की समक्ष सभाका उपाध्यक्ष विमला घिमिरेलाई निवासको उचित व्यवस्था गरिदिन पनि आग्रह गर्नुभएको थियो । जेन—जी आन्दोलनको क्रममा उपाध्यक्ष घिमिरेको सरकारी निवास पनि आगजनी भएको थियो । उहाँको निवासको समस्या भएकाले त्यसको व्यवस्था गरिदिन पनि आफूले प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएको बताउनु भयो ।

त्यस क्रममा अध्यक्ष दाहालले कानूनी रुपमा राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक, सांसदहरुले पाउँदै आएका सेवा, सुविधा कटौति नगर्न पनि सरकारसँग आग्रह गर्नुभएको थियो । प्रतिनिधि सभा विघटन भएपनि राष्ट्रिय सभा कायमै रहेकाले त्यहाँका सदस्यहरुले पाउँदै आएको सेवा सुविधा कटौति नगर्न आफूले प्रधानमन्त्रीसँग आग्रह गरेको पनि अध्यक्ष दाहालले बताउनुभयो ।

यता प्रधानमन्त्री कार्कीले पनि सो विषयमा आफू सकारात्मक रहेको बताउनु भएको थियो । सरकारले मापदण्ड विपरितका सबै सेवा सुविधा कटौति गर्ने परिपत्र गरिरहेको छ । त्यसमा राष्ट्रिय सभाका पदाधिकारी र सदस्यहरुको पनि सेवा, सुविधा कटौति गर्न नहुने अध्यक्ष दाहालको जिकिर थियो ।

Leave a Reply

ताजा समाचार