काठमाडाैं । राष्ट्रपति भवन शितल निवास अगाडी जेन-जी युवाहरुले नाराबाजी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न नपाएको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् ।
राष्ट्रपति पौडेलले शनिवार जेन-जी युवाहरुसँग छलफल गर्न बैठक बोलाउनुभएको थियो । राष्ट्रपतिसँगको छलफलमा सहभागी हुन शितल निवासभित्र प्रवेश नपाएका युवाहरुले नाराबाजी गरेर विरोध जनाएका हुन् ।
नाराबाजी गर्ने युवाहरुले वास्तविक जेनजीलाई बाहिर राखेर हामी नेपाल संस्थाका सुदन गुरुङको टोलीलाई मात्रै शितल निवासभित्र प्रवेश गर्न दिएको आरोप लगाएका छन् । जेन-जी प्रतिनिधि इन्जिनियर प्रवेश लामाले जेन-जी आन्दोलन सुदन गुरुङले मात्रै नगरेको बताउनुभयो ।
सरकारले फागुन २१ गते तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सहज वातावरण बनाउन राष्ट्रपति पौडेल आफै सक्रिय हुनुभएको छ । राष्ट्रपति पौडेलले शुक्रवार राजनितिक दल र प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरुसँग छलफल गर्नुभएको थियो।
राजनीतिक दलका नेताहरुको छलफलपछि राष्ट्रपति पौडेलले शनिवार जेनजीका प्रतिनिधिहरुलाई छलफलका लागि बोलाउनुभएको थियो । तर शनिबारको छलफललाई सोमबारसम्मका लागि सारिएको छ ।





