असंवैधानिक शक्ति केन्द्रहरू हाबी हुन थाले मुलुकको राजनीति धमिलो बन्छ : रायमाझी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

असंवैधानिक शक्ति केन्द्रहरू हाबी हुन थाले मुलुकको राजनीति धमिलो बन्छ : रायमाझी

काठमाडाैं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझीले आफूहरुले वडादेखि केन्द्रसम्म पार्टी संरचनामा परिवर्तन चाहेको बताउनुभएको छ । उहाँले असोज २६ गतेदेखि बस्ने काँग्रेस केन्द्रीय समितिको बैठकले पार्टीलाई नयाँ ढंगले परिस्कृत गर्ने निर्णय गर्ने जानकारी दिनुभयो ।

देश हाल प्रतिकुल र पीडादायी अवस्थामा रहेको बताउँदै उहाँले नयाँ चुनौतीको समाधान गर्न पार्टीलाई नयाँ उर्जा र उत्साहका साथ अगाडी लैजाने बताउनुभयो । उहाँले जेन—जी आन्दोलनपछि राजनीतिक, सामाजिक र सुरक्षात्मक अवस्थाले मुलुकलाई गम्भीर संकटतर्फ धकेलिरहेको बताउनुभयो । कठिन अवस्थामा देशको जिम्मेवारी मुख्य राजनीतिक दलको रूपमा नेपाली काँग्रेसकै काँधमा आएको उहाँको भनाइ छ ।

काँग्रेस ऐतिहासिक र प्रजातान्त्रिक पार्टी भएकाले वर्तमान संकटको समाधान काँग्रेसले खोज्न सक्नुपर्ने उहाँले बताउनुभयो । यो काँग्रेसको दायित्व पनि रहेको उहाँको भनाइ छ । केन्द्रीय समितिको बैठकमा पार्टीको संगठनात्मक संरचना र नीतिगत दिशाबारे गम्भीर छलफल हुने उहाँले जानकारी दिनुभयो ।

बाढी–पहिरोका कारण उत्पन्न विपत्तिप्रति दुःख व्यक्त गर्दै केन्द्रिय सदस्य रायमाझीले सरकारले विपद्मा गरेको कार्यमा धन्यवाद ज्ञापन गर्नुभयो । तर उहाँले सरकार सञ्चालन वैधानिक तरिकाले र वैध नेतृत्वमार्फत हुनुपर्नेमा जोड दिनुभयो । ‘हामी नेपाल’ नामक एक एनजीओका सुधन गुरुङले शनिवार राष्ट्रिय विपद प्राधिकरणको बैठकमा सहभागी भएर उच्च सरकारी अधिकारीहरूसँग लिएको ब्रिफिङदेखि तथ्याङ्क मागेको र निर्देशन दिएकोप्रति लक्षित गर्दै उहाँले संवैधानिक रुपमा सरकार सञ्चालन हुनुपर्नेमा सचेत गराउनुभएको हो ।

असंवैधानिक शक्ति केन्द्रहरू हाबी हुन थाले भने मुलुकको राजनीति धमिलो बन्ने उहाँको भनाइ छ । अहिले विपद्को नाममा हस्तक्षेप शुरु भए भविष्यमा विकास, अर्थ, परराष्ट्र र सुरक्षाका नाममा पनि प्रभाव बढ्न सक्नेतर्फ उहाँले सचेत गराउनुभयो।

रायमाझीले वर्तमान सरकारले जिम्मेवार र स्वतन्त्र रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले आफूले तोकेको समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने पनि उहाँले बताउनुभयो । उहाँले सरकारलाई निरिह नभई नेपालको सरकार हुँ भन्ने आत्मविश्वासका साथ काम गर्न आग्रह गर्नुभयो ।

Leave a Reply