जेन जीको आक्रोश : अभावको आवाज कि आवेशको आन्दोलन ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

जेन जीको आक्रोश : अभावको आवाज कि आवेशको आन्दोलन ?

देशमा भइरहेका भ्रष्टाचार, बेरोजगारी, विलासी राजनीतिक जीवनशैली, सामाजिक सञ्जाल बन्दलगायतका विषयमा असन्तुष्टि जनाउँदै १३ देखि २८ वर्षमूनिका युवाहरू सडक आन्दोलनमा उत्रिएका छन् । यो उमेर समहूका युवाले अहिलेसम्म नेपालमा पढाइ लेखाइभन्दा अरु विषयमा खासै चासो राखेका थिएनन् । डिजिटल संसारमा हुर्किएका नयाँ पुस्ताले अहिले देशमा बढेको विकृति र विसंगतिविरुद्ध आन्दोलन शुरु गरेको हो । आन्दोलन जसले गरे पनि शान्तिपूर्ण र सम्यमित बन्न जरुरी छ ।

१३ देखि २८ वर्षमूनिका युवाहरू, जसलाई जेन जीको उपनामले चिनिन्छ । अहिलेको विकृति र विसंगतिप्रतिको आफ्नो असन्तुष्टि पोख्न जेन जीहरु सडक आन्दोलनमा उत्रिएका हुन् । उनीहरूको आवाजमा भ्रष्टाचार, बेरोजगारी, राजनीतिक विलासिता, सामाजिक सञ्जाल बन्धलगायतका विषय उनीहरुले उठाएका छन् । उमेरले त्यति परिपक्व नमानिने यो समूहका युवाले उठाएका मुद्दाहरू हल्का वा सामान्य खालका छैनन् ।

लामो समयदेखि देशमा देखिएको भ्रष्टाचार, पहुँचको राजनीति तथा राजनीतिक नेताका परिवार र छोराछोरीको विलासितायुक्त जीवनशैलीका कारण जेन जीमा निराशा र आक्रोश सिर्जना गरेको देखिन्छ । शिक्षित युवाहरू देशमै काम नपाएर विदेशिन बाध्य छन्, तर राज्यले उनीहरुको समस्या समाधान गर्न नसकेको गुनासो उनीहरूको आवाजमा पाइन्छ ।

जेनजी पुस्ताले सामाजिक सञ्जाललाई मनोरञ्जनको माध्यम मात्र नभइ अभिव्यक्तिको प्रमुख माध्यम बनाएका छन् । त्यसैले सामाजिक सञ्जाल बन्द केवल प्रविधिमा हस्तक्षेप होइन, अभिव्यक्तिमा पनि नियन्त्रण भएको उनीहरुको बुझाइ छ । यो कदमले सरकार र युवाबीचको दूरी थप बढाएको छ । तर यस्तो परिस्थितिमा युवाहरूले पनि संविधान, नीति निर्माण प्रक्रिया, संस्थागत सुधार र लोकतान्त्रिक सहभागितालगायतको महत्वबारे बुझ्न आवश्यक छ । नेपालको संविधान, कानुन नेपालीले मात्र होइन, नेपाल बाहिर खोलिएका संघसंस्था पनि नेपालमा सूचीकरण भएर मात्र सञ्चालन हुनुपर्छ भन्ने मान्यता हामी सवैको हुनुपर्छ ।

विश्वका विभिन्न देशमा भएका आन्दोलनहरुबाट पनि १३ देखि २८ वर्षमूनिका युवा पुस्ता सचेत, संगठित र सुदृढ बनेको देखिन्छ । तर नेपालमा अहिले भइरहेको जेनजी आन्दोलन भावनात्मक आवेशको परिणाम त होइन भनेर जनमानसमा शंका समेत पैदा भएको छ । उनीहरू कुनै दल वा विदेशी शक्तिबाट प्रभावित छन् कि भनेर प्रश्न उब्जिए पनि ठोस प्रमाण भने कतै पाइदैन । सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत फैलिने जानकारी र भावनाले कतिपयलाई आवेशमा ल्याउन सक्छ ।

जेन जी आन्दोलन केवल आवेश होइन, चेतनशील असन्तोषको अभिव्यक्ति भएको उनीहरुको बुझाइ छ । यो पुस्ताले समस्याको कुरा मात्र होइन, समाधानको खोजी पनि गरिरहेको छ । युवाको आवाज सुन्ने, उनीहरूका मागलाई गम्भीरतापूर्वक लिने र व्यावहारिक नीति सुधारमार्फत् जवाफ दिने राज्यको दायित्व हो । शिक्षित जनशक्तिले भरिएको युवा पुस्तालाई साथ लिएर सरकार अघि बढ्नुपर्छ ।

तर जेन जीे आन्दोलन देशको नियम कानुनविपरित निशेधाज्ञा तोडेर आन्दोलित हुनु सकारात्मक संकेत होइन । देशको संविधानले दिएको अधिकारको सदुपयोग गर्दैं शान्तिपूर्ण बाटोबाट आफ्ना असन्तुष्टि प्रकट गर्न आवश्यक छ । यदि जेन जीको आन्दोलन गलत दिशामा गयो भने यसको असर समग्र देशमाथिनै महँगो पर्ने सम्भावना रहन्छ । शिक्षित र जोश जाँगरले भरिपूर्ण जेन जीले देशको वेथितिविरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोख्ने र अनुशासनहीन प्रदर्शन नगरी वेथितिको कारण र यसको समाधानका लागि रचनात्मक ढंगले राज्य र सरकारलाई सुझाव दिन आवश्यक छ ।

Leave a Reply