नेपालका अधिकांश क्षेत्र भ्रष्टाचारको चपेटामा, नियन्त्रण गर्न जोखिमका क्षेत्रहरू पहिचान गर्दै योजनाबद्ध रूपमा नीति,कानुन तथा रणनीति तय गर्न आवश्यक | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

नेपालका अधिकांश क्षेत्र भ्रष्टाचारको चपेटामा, नियन्त्रण गर्न जोखिमका क्षेत्रहरू पहिचान गर्दै योजनाबद्ध रूपमा नीति,कानुन तथा रणनीति तय गर्न आवश्यक

भ्रष्टाचारको दलदलमा डुवेको नेपालमा कुनैपनि क्षेत्र अनियमितताबाट अछुतो छैन । कुनैबेला भ्रष्टाचारका उच्च जोखिमयुक्त क्षेत्र सार्वजनिक सेवा प्रदायक कार्यालय मात्र रहेको भने पनि अहिले त्यसको  दायरा फराकिलो भइसकेको छ ।

नेपालका अधिकांश क्षेत्रमा वेथिति, विसंगति र भष्टाचारले कब्जा जमाइसकेको छ । कुनै संस्थामा परेका उजुरी तथा विशेष अदालतमा दायर भएका मुद्दाको क्षेत्रगत तथा तहगत संख्याको आधारमा मात्रै भ्रष्टाचारको जोखिमयुक्त क्षेत्र किटान गर्न सकिने अवस्था छैन । उजुरी नै नपर्ने र अख्तियारको अधिकार क्षेत्रमा नरहेको वा आमनागरिकले थाहै नपाउने क्षेत्रमा पनिभ्रष्टाचारको जालो फैलिएको छ ।मन्त्रिपरिषद्को निर्णयमार्फत नीतिगतरुपमा गरिने भ्रष्टाचार मात्र अहिले चर्चामा छ । मन्त्रिपरिषद्को सम्पूर्ण निर्णयलाई नीतिगत मानिँदै आए पनि पहिलो पटक गएको जेठ २२ गते पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणको भ्रस्टाचार मुद्दा दायर गरेको छ । छानविन गर्ने हो भने मन्त्रिपरिषदबाट निर्णय गरेर भ्रस्टाचारबाट धेरै मन्त्री जोगिएका हुनसक्छन् । त्यस्ता विषय पनि अहिले भ्रस्टाचारविरुद्धको खोजीको विषय हुनसक्छ । यसबाट सबैभन्दा बढी भ्रष्टाचार मन्त्रिपरिषद्का निर्णयहरू नै हुने संभावनामा थप बल पुग्नसक्छ । कर्मचारी तहमा गर्नुपर्ने निर्णयसमेत मन्त्रिपरिषदले गरेको छ । सार्वजनिक खरिदका कतिपय निर्णय मन्त्रिपरिषद्बाट गरेर अनियमितता भइरहेको आशंका गर्न सकिने प्रसस्तै आधार अख्तियारको आव ०७९÷०८० को वार्षिक प्रतिवेदनले देखाइसकेको छ ।

अख्तियारले २०७५ मा गरेको अध्ययन, ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०१३ मा प्रकाशित गरेको ग्लोबल करप्सन ब्यारोमिटरले नेपालका राजनीतिक दलका नेता भ्रष्टाचारको उच्च जोखिममा रहेको औंल्याएको छ । राजनीतिक दलका नेताहरूले समानुपातिक सांसद् बनाउँदा, टिकट वितरण गर्दा, कर्मचारी सरुवा गर्दा, राजनीतिक नियुक्ति दिँदा भ्रष्टाचार हुनेगरेको तथ्य जगजाहेर छ । तर अख्तियारले हालसम्म यस्ता विषयलाई आधार मानेर अनुसन्धान गरेको छैन । राष्ट्रिय सतर्कता केन्द्रको २०७५सालको वार्षिक प्रतिवेदनमा निजी तथा गैरसरकारी क्षेत्रमा भ्रष्टाचारको उच्च जोखिम रहेको औंल्याएको छ । सरकारी कार्यालयमा कुनै समान गरिद गर्दा, गरिद गरेको दामभन्दा बढीको बिल बनाउने, आफन्तलाई मात्रै रोजगारी दिनेलगायतका विभिन्न स्वरूपमा अनियमितता भइरहेको तथ्य सार्वजनिक छन् । राष्ट्रिय गौरवको आयोजना तथा ठूला आयोजना भ्रष्टाचारको उच्च जोखिममा छन् । राष्ट्रिय गौरवका आयोजनाको बजेट १६ खर्बभन्दा बढी छ । तर कुनै पनि गौरवका आयोजना तोकिएको समयभित्र पुरा भएका छैनन् ।

अनि लागत पटक–पटक बढाइन्छ । करिब १५ अर्ब एडीबीको ऋण लिएर सन् १९९८ बाट निर्माण सुरु भएको मेलम्ची २७ वर्षमा ३५ अर्बभन्दा बढी खर्च गरिसक्दा पनि पुरा भएको छैन । चार सय ५६ मेगावाट क्षमता र ३५ अर्ब लागतमा ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको माथिल्लो तामाकोशी आयोजना पुरा हुन १२ वर्ष लाग्यो । लागत ७५ अर्बभन्दा बढी पुग्यो । न्यायपालिका र त्यसअन्तर्गतका निकायहरू कुनै पनि भ्रष्टाचारबाट मुक्त छैनन् । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले २०७८ सालमा पेस गरेको अध्ययन प्रतिवेदनले न्यायालय भ्रष्टाचारको उच्च जोखिममा परेको देखाएको छ । मालपोत, भूमिसुधार, नापी, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय, जिल्ला शिक्षा समन्वय एकाइ, स्वास्थ्य, जिल्ला प्रशासनलगायतका सेवा प्रदायक कार्यालयहरू पनि खुद्रे भ्रष्टाचारको अखडा नै भइसकेका छन् । भ्रष्टाचार नियन्त्रणका लागि अहिलेको ओठे भक्तिबाट मात्र संभव छैन । त्यसका लागि संघीय सरकारदेखि स्थानीय तहसम्मका जनप्रतिनिधि, कर्मचारी,वहालवाला र पूर्व सवैमाथि निर्ममरुपमा छानविन गरी कारबाही गर्न सक्नुपर्छ ।

Leave a Reply