शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघद्वारा काँग्रेस पार्टी कार्यालय सानेपामा धर्ना | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघद्वारा काँग्रेस पार्टी कार्यालय सानेपामा धर्ना

काठमाडौँ,

प्रश्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासंघले नेपाली काँग्रेसको पार्टी कार्यालयमा सानेपा धर्ना दिएको छ ।महासंघ र सरकारबीच विगतमा भएका सहमतिअनुसार शिक्षा विधेयक सच्याउन माग गर्दै महासंघले पहिलो चरणको आन्दोलनअन्तर्गत काँग्रेस पार्टी कार्यालयमा धर्नामा बसेको हो । संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको शिक्षा विधेयकमा महासंघका मागहरु सम्बोधन गर्न दबाब दिनको लागि आफूहरु आन्दोलनमा उत्रिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो । उहाँले सार्वजनिक शिक्षालाई उन्नत गराउनको लागि शिक्षक कर्मचारी र नेपाल शिक्षक महासंघले राखेका मागहरु सम्बोधन गर्नुको विकल्प नरहेको बताउनु भयो । उहाँकाअनुसार महासंघले भदौ २० सम्म धर्ना कार्यक्रम जारी राख्ने भएको छ । भदौ १३ गते देशभरका स्थानीय तहहरुमा तथा भदौ १५ गते जिल्ला शिक्षा इकाईमा धर्ना दिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । उहाँले २० गतेसम्म पनि आफ्ना मागहरु पूरा नभए भदौ २१ गते नयाँ आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने बताउनु भयो ।

संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट विगतमा भएको सहमतिअनुसार विधेयक सच्याउन महासंघले माग गरेको छ । महासंघले अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति आन्तरिक प्रतिष्पर्धा ७५ प्रतिशत र खुला २५ प्रतिशत हुनुपर्ने माग अघि सारेको छ । तर विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला हुने व्यवस्थासहित समितिले प्रतिनिधि सभामा पठाएको छ । विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित नभएको र बालकक्षा शिक्षकको पद र सेवा सुविधा निश्चित नभएको, संस्थागत विद्यालयका शिक्षकको सेवा र अव्यवहारिक सरुवा प्रणालीको व्यवस्था ल्याइएको भन्दै महासंघ आन्दोलित भएको हो । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक भदौ ५ मा पारित गरिएको थियो ।  विधेयकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले फरक मत राखेका छन् ।

Leave a Reply