काठमाडौँ ।
प्यालेस्टाइनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम गर्ने र इजरायलसँग बन्धकको रिहाइका निम्ति मध्यस्थकर्ताको नयाँ प्रस्तावमा सहमति जनाएको छ । प्यालेस्टाइनी समूहको एक स्रोतले बेलायती अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीसित यो विषय पुष्टि गरेको हो ।
इजिप्ट र कतारको यो प्रस्ताव गएको जुनमा अमेरिकी राजदूत स्टीव विटकफले दिएको ढाँचामा आधारित रहेको जनाइएको छ ।यो योजना अनुसार, पहिले ६० दिनको युद्धविराम लागु गरिनेछ । त्यसपछि हमासले बाँकी ५० इजरायली बन्धकलाई दुई समूहमा रिहा गर्नेछ । यीमध्ये २० जना जीवित रहेका विश्वास गरिएको छ ।
त्यसपछि स्थायी युद्धविरामका निम्ति वार्ता अगाडि बढाइनेछ ।नयाँ प्रस्तावमा हमास सहमत भए पनि इजरायलको प्रतिक्रिया अझै आएको छैन ।गएको साता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सबै बन्धकलाई एकैचोटि रिहाइको सम्झौता मात्र स्वीकार गर्ने बताएका थिए । नेतान्याहूले हमास एकदम दबाबमा रहेको
जनाएका छन् ।




