काठमाडाैं । मधेशका केही जिल्लामा भारी वर्षा भएको छ । बर्खाको समयमा लामो समयदेखि सुक्खाग्रस्त मधेशका केही ठाउँमा २४ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लामो समय वर्षा नहुँदा सुक्खाग्रस्त मधेशलाई मधेश प्रदेशलाई सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । रोपाइँसमेत हुन नसकेको मधेशमा भएको पछिल्लो वर्षाले राहत भएको छ ।
शनिबार बिहान गरिएको मापन अनुसार धनुषा जिल्लाको तुल्सी केन्द्रमा ६३.८ मिलिमिटर वर्षा भएको छ । धनुषाकै हर्दिनाथमा ५१ मिलिमिटर वर्षा मापन भएको छ ।
यस्तै, रौतहटको गौरमा ४४.६ र बाराको अमलेखगंजमा ४६.४ मिलिमिटर वर्षा भएको छ । २४ घण्टामा ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई मौसम विज्ञानमा भारी वर्षा भएको मानिन्छ भने १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम वर्षा मानिन्छ ।
मधेश प्रदेशका अन्य जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । सर्लाहीमा ३७.६, महोत्तरीको गौशाला स्टेशनमा ३२.४ मिलिमिटर वर्षा भएको छ । सिरहा र सप्तरीमा भने वर्षा कम भएको छ ।
आइतबार पनि मधेशमा मध्यमदेखि भारी वर्षा हुने प्रक्षेपण गरिएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर नेपालतिर सर्ने क्रममा रहेकाले थप वर्षा हुने सम्भावना रहेको मौसमविद्को पूर्वानुमान छ ।





