जेठ ०८ बिहिबार ।
चालू आर्थिक वर्षको १० महिनामा झण्डै १० हजार विद्युतीय गाडी आयात भएको छ । साउनदेखि वैशाख महिनासम्म २३ अर्ब १० करोड ५७ लाख मूल्य बराबरका ९ हजार आठ सय ५९ वटा विद्युतीय गाडी आयात भएको हो ।यस अवधिमा चीनबाट ७ हजारभन्दा बढी र भारतबाट २ हजारभन्दा बढी विद्युतीय गाडी आयात भएका छन् ।
यस्तै, इन्डोनेसिया, कोरिया, जर्मनी, मलेसिया र अमेरिकाजस्ता देशबाट पनि विद्युतीय गाडी आयात भएको छ । आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक हुने मिति नजिकिँदै गर्दा विद्युतीय गाडीको आयात बढेको छ ।सरकारले विद्युतीय गाडीमा कर बढाउन सक्ने आशङ्कामा व्यापारीहरूले अग्रिम रूपमा विद्युतीय गाडी भित्र्याउन थालेका हुन् ।
यसले गर्दा भन्सार कार्यालयहरूमा विद्युतीय गाडीको चाप बढेको छ । काठमाण्डौको चोभारमा रहेको सुक्खा बन्दरगाहसँगै तातोपानी र रसुवागढी नाकामा समेत विद्युतीय गाडीको चाप बढेको छ ।कतिपय विद्युतीय गाडी कम्पनीहरूले ‘प्रि–बजेट अफर’ को नाममा उपभोक्तालाई विद्युतीय गाडी खरिद गर्न प्रोत्साहन गरिरहेका छन् ।




